ग्लोवल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जा र सरल बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
महासंघमा आबद्ध सदस्य संघ/संस्थाहरुलाई उक्त सेवा दिनेगरी बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङ्गले समझदारी पत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालिन तथा दीर्घकालिन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ।
साथै बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ।
बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान, पुनर्कर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु दिइने सम्झौतामा उल्लेख छ।