नक्सालस्थित तरकारी बजारमा गएर तरकारी खरिद गर्ने ग्राहकले अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्।
नेपाल राष्ट्र बैंक, सानिमा बैंक र तरकारी बजारको समन्वयमा क्यूआर कोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाइएको हो।
ग्राहकले आफ्नो मोबाइलमा क्यूआर कोड स्क्यान गरी आफूले खरिद गरेको तरकारीको मूल्य सिधै भुक्तानी गर्न सक्नेछन्। ग्राहकले भुक्तानी गरेको रकम बिक्रेताको बैंक खातामा संकलन हुनेछ।
सानिमा बैंकले तरकारी बजारका बिक्रेतालाई निशुल्क रुपमा क्यूआर कोड वितरण गरेको हो।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी खरिदमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रमको औपचारिक रुपमा सुरुआत गरे।
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले डिजिटल प्रणालीको विकासलाई राष्ट्र बैंकले अभियानका रुपमा अगाडि बढाएको बताए। पूर्ण रुपमा तत्काल नगदरहित भुक्तानी गर्न नसकिए पनि नगद भुक्तानीमा कमी गर्दै लैजान सकिने उनले औंल्याए।
डिजिटल भुक्तानी राज्यको सुशासन, आचरण तथा आर्थिक रुपान्तरणसँग गाँसिएको उनले बताए।
नक्सालमा मात्रै नभई, कालीमाटी, बल्खुजस्ता ठूला तरकारी बजारमा पनि क्युआर कोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाइने उनले बताए।
कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका सिइओ भुवनकुमार दाहालले हाल डिजिटल प्रणालीको विकासका लागि ठूलो लगानी आवश्यक रहे पनि दीर्घकालीन अवधिमा लागत घट्न जाने स्पष्ट पारे।
बैंकहरुले छुट्याउने १ प्रतिशत सामाजिक उत्तरदायित्वको रकममा ५० प्रतिशत रकम बैंकर्स संघमा पठाएर विशेष पुलमार्फत डिजिटल प्रणालीको विकास, विस्तार तथा सुरक्षाका लागि रकम खर्चिन पाउने व्यवस्था मिलाउन उनले राष्ट्र बैंकसमक्ष आग्रह गरे।
सर्वसाधारणलाई नियमित चाहिने खाद्यान्न, फलफूल, तरकारी खरिदमा डिजिटल भुक्तानी बढाउनुपर्नेमा उनले जोड दिए।
पारदर्शिता अवलम्वन गर्नका लागि डिजिटल भुक्तानी नै प्रमुख माध्यम रहेको दाहालले बताए।
