कोरोना बीमा दावीको रकम भुक्तानीले पछिल्ला दिनमा केही गति लिएको छ।
बीमा समितिका अनुसार सोमबारसम्म कुल १६ हजार ९४९ जनाले बीमा रकम बुझेका छन्।
उनीहरुलाई कुल १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।
समितिका अनुसार थप १३ हजार ८३६ जनालाई रकम भुक्तानीका लागि सबै प्रक्रिया पुरा भएको छ।
‘हालसम्म कुल ३० हजार ७८५ जनाको प्रक्रिया पुरा भएकोमा १६ हजार ९४९ ले भुक्तानी लिइसकेका छन्’ समितिका सूचना अधिकारी निर्मल अधिकारीले भने।
विभिन्न १९ वटा निर्जीवन बीमा कम्पनीमा कुल १७ लाख ११ हजारले कोरोना बीमा गरेका छन्।
२ हजार ८ सय आवेदन स्वीकृतिका लागि प्रक्रियामा छ। १९ वटा निर्जीवन बीमा कम्पनीमा कोरोना दावी भुक्तानीका लागि परेका आवेदन एकद्वार प्रणालीबाट प्रमाणित गर्ने काम भइरहेको छ।
इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणसँग आवेदकको नाम प्रमाणित गरेर मात्रै कोरोना बीमा रकम भुक्तानीका लागि स्वीकृति दिइन्छ।
समितिका अनुसार ८ हजार ६९६ वटा आवेदन महाशाखामा प्रमाणीकरणका लागि पठाइएकोमा ४८१० वटा स्वीकृत भएर आइसकेको छ। त्यस्तै ३ हजार ७९४ वटा आवेदन प्रमाणिकरणको प्रक्रियामा छ।
बीमाको दावी माग गर्दै निवेदन दिएकामध्ये ८९ वटा दावी खारेज भएको छ। दोहोरिएका कारण र महाशाखाबाट प्रमाणित नभएका कारण पनि ती आवेदन रद्द भएको बीमक संघले जनाएको छ।
संघका अध्यक्ष दीपप्रकाश पाण्डेका अनुसार कागजात प्रक्रिया पुरा गरेकाहरुलाई क्रमिक रुपमा रकम भुक्तानी हुँदै जानेछ। दैनिक ७ सयदेखि १ हजारसम्मलाई कोरोना बीमाको रकम भुक्तानी गरिँदै गएको उनले दावी गरे।
‘प्रक्रिया पुरा गरेका सबैले रकम प्राप्त गर्छन्, कोरोना बीमा रकम पाइँदैन कि भन्ने शंका कसैले गर्नु पर्दैन।’
मापदण्डअनुसार एक अर्ब रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनीले बेहोर्ने छन्। त्यस्तै १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्मको रकम नेपाल पुनर्बीमा कम्पनीले बेहोर्नेछ। हाल पुनर्बीमा कम्पनीले रकम भुक्तानी गरिरहेको छ।
२ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बीमक कम्पनीहरूको महाविपत्ति पुलले बेहोर्नेछ। त्यस्तै साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्म भुक्तानी गर्नुपर्दा बीमा समितिले बेहोर्नेछ।
साढे ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नु परेमा सरकारले बेहोर्ने मापदण्डमा उल्लेख छ।