नेप्से परिसूचक मंगलबार ५ अंकले बढेको छ। सूचक ५ अंकले बढेसँगै २०१२ अंकमा कायम भएको छ।
कुल ४ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन ७ समूहका सूचक ओरोलो लागेका छन् भने चार समूहको बढेको छ। बैंकिङ ९, ब्यापार ३, होटल ४, विकास बैंक १८, जलविद्युत १८, फाइनान्स २ र जीवन बीमा समूह ७० अंकले घटेका छन्।
निर्जीवन बीमा समूह ११, उत्पादन १९५, अन्य ५० र माइक्रोफाइनान्स समूह ११ अंकले बढेका छन्।
समग्र परिसूचकमा सामान्य वृद्धि भए पनि यस दिन नागरिक लगानी कोष र नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन्।
नागरिक लगानी कोषको हकप्रदपछि मूल्य समायोजन भइ कारोबार भएपछि १० प्रतिशत मूल्य बढेको छ।
सो कम्पनीको मूल्य प्रतिकित्ता २७८ रुपैयाँ बढेर ३ हजार ६२ रुपैयाँ कायम भएको छ। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको मूल्य प्रतिकित्ता ४५ रुपैयाँ बढेर ५ सय रुपैयाँ कायम भएको छ।
हिमालयन जनरल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेर ६५९ रुपैयाँ कायम भएको छ। शिवम् सिमेन्टको मूल्य ५.६ प्रतिशतले बढेको छ।
मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। सेन्ट्रल फाइनान्सको मूल्य ४ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा नविल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको बुक क्लोज मिति नजिकिँदै गर्दा कारोबार रकम बढेको हो।
कम्पनीको ५३ करोड रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै दोस्रोमा रहेको शिवम् सिमेन्टको २७ करोड ९३ लाख रुपैयाँको सेयर किनेबेच भयो।