सेयर बजारमा अहिले एउटा मात्रै सिमेन्ट उद्योगको कारोबार हुने गरेको छ।
शिवमबाहेक अरु कुनै सिमेन्ट उद्योगको कारोबार हुँदैन। सो प्रकृतिका अरु कम्पनी नहुँदा शिवम्को मूल्य पनि आकासिएको छ। मंगलबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १४५३ रुपैयाँ कायम भएको छ।
प्रत्येक्ष उत्पादनमूलक क्षेत्रका कम्पनीहरु बजारमा कम छन्। पोर्टफोलियो व्यवस्थापनका लागि लगानीकर्ताले फरक फरक प्रकृतिका कम्पनीहरु छान्ने गर्छन्। तर त्यस्ता कम्पनी सीमित हुँदा सेयरको आपूर्ति कम हुन जान्छ, जसले मूल्यमा चाप पर्दछ।
केही सिमेन्ट उद्योगहरु सार्वजनिक सेयर निश्कासनका लागि तयारी गरिरहेका छन्। तिमध्येको एक हो– सर्वोत्तम सिमेन्ट। कम्पनीले बुक बिल्डिङ विधिबाट सार्वजनिक सेयर निश्कासन गर्नका लागि माघ ६ गते बस्ने साधारणसभामा प्रस्ताव लैजाँदैछ।
सो प्रस्ताव साधारणसभाबाट पारित भएपछि निश्कासनका लागि अरु प्रक्रिया पनि पुरा गर्दै जाने सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए।
‘कम्पनीले कुल ६० लाख कित्ता सेयर निश्कासन गर्ने लक्ष्य लिएको छ’ सेतोपाटीसँगको कुराकानीमा न्यौपानेले भने।
प्रभावित तथा कर्मचारीका लागि यहीं संख्याबाट सेयर छुट्याइनेछ। कम्पनीले कुल चुक्ता पुँजीको १५ प्रतिशत सार्वजनिक निश्कासन गर्न लागेको हो। न्यौपानेका अनुसार फागुनभित्रै कम्पनीले सार्वजनिक सेयर निश्कासन गर्ने लक्ष्य राखेको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको अंकित मूल्यमा केही थप गरेर मूल्य तय गर्दछ। कम्पनीले तय गरेको मूल्यलाई बजारले नै निर्धारण गर्नेछ। कम्पनीले सुहाउँदो मूल्य राखेर बोर्डबाट अनुमति लिनेछ।
धितोपत्र बोर्डले उत्पादनमूलक क्षेत्रलाई पनि पुँजीबजारमा समेट्नका लागि कम्पनीले नै मूल्य तोकेर सार्वजनिक निश्कासन गर्न सक्ने व्यवस्था गत फागुनबाट लागू गरेको हो।
यहीं व्यवस्थाका कारण प्रत्येक्ष उत्पादनमूलक उद्योगहरुलाई सार्वजनिक निश्कासनका लागि सहजता मिलेको छ। अब अंकित मूल्य १ सय रुपैयाँमै प्रारम्भिक सेयर निश्कासन गर्नुपर्ने बाध्यता छैन।
‘बुक बिल्डिङले हामीलाई सेयर निश्कासनका लागि सहयोग गरेको छ, वर्षौदेखि नाफामा चलेका, धेरै सम्पत्ति भएका कम्पनीले सेयर निश्कासन गर्दा उचित मूल्य त चाहिन्छ नी।’ अध्यक्ष न्यौपानेले भने।
सर्वोत्तम सिमेन्टले नै वार्षिक १ अर्बभन्दा बढी नाफा कमाउने गरेको उनले स्पष्ट पारे। कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँभन्दा बढी रहेको उनले बताए। लगानीकर्ताले कम्पनीबाट लाभांश समेत पाउँदै आएका छन्।
२०७५ फागुनमा शिवम्ले जारी गरेको आइपिओमा २ सय रुपैयाँ प्रिमियम थपेर ३ सयका दरले जारी गरेको थियो। सो कम्पनीको मूल्य अहिले साढे १४ सय रुपैयाँको हाराहारीमा छ।