सेयर बजारको परिसूचक नेप्से नयाँ उचाइमा पुगेको छ।
बिहीबार बजारको परिसूचक २५ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २ हजार ८७ अंकमा पुगेको छ।
कारोबार बन्द हुँदाको यो अंक अहिलेसम्मकै उच्च हो। ८ दिनअघि नेप्सेले २ हजार ७९ अंकको उच्च रेकर्ड बनाएको थियो।
आज दिउँसो १२ः ४१ बजे २११२ सम्म पुगेको नेप्सेमा त्यसपछि सामान्य करेक्सन देखिएको हो। यस दिन कारोबार रकम पनि बढेको छ।
५ अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच भएको छ। अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएको थियो भने नेप्से ४९ अंकले बढेको थियो।
यस दिन नेप्से बढाउनमा बैंकिङ समूहको नै मुख्य भूमिका रह्यो। सो समूह ३० अंकले बढेको छ। सो समूहका कम्पनीहरुको संयुक्त पुँजीकरण बढी भएकाले बैंकिङ समूहको नेप्सेमा सबैभन्दा ठूलो प्रभाव पर्दछ।
त्यस्तै ब्यापार समूह १८७, होटल १, विकास बैंक १४, जलविद्युत ४, फाइनान्स ४, उत्पादन २, अन्य २३, जीवन बीमा समूह १७२ अंकले बढेका छन्। माइक्रोफाइनान्स समूह १ अंकमुनि हरियो रह्यो भने निर्जीवन बीमा समूह ९६ अंकले घटेको छ।
यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत मूल्य कमाएका छन्। त्यस्तै एभरेष्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा हिमालय डिस्टलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड ८८ लाख रुपैयाँको कारोबार भयो भने मूल्य ३.५७ प्रतिशतले बढेर प्रतिकित्ता ५२८० रुपैयाँ कायम भएको छ।
नेपाल लाइफ इन्स्योरेन्सको ३७ करोड रुपैयाँको कारोबार भयो। सो कम्पनीको मूल्य प्रतिकित्ता २.१४ प्रतिशतले बढेर २२९५ रुपैयाँ कायम भएको छ।
नागरिक लगानी कोषको २८ करोड ७८ लाखको कारोबार भयो। मूल्य १.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३४३० रुपैयाँ कायम भएको छ।
राजनीतिक अन्यौलताको प्रभाव किन देखिएन बजारमा?
मुलुक यतिबेला राजनीतिक अन्यौलतामा छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेका छन् भने त्यसको विपक्षमा सर्वोच्च अदालतमा धेरै मुद्दाहरु परेका छन्।
प्रतिनिधिसभा भंग हुन्छ वा प्रतिस्थापन हुन्छ भन्ने निर्णय सर्वोच्चको फैसलामा भर पर्नेछ।
राजनीतिक वातावरणले विश्वका धेरै देशमा सेयर बजार प्रभाव पर्ने गर्दछ। नेपालमा पनि विगतमा यस्तो प्रभाव देखिँदै आएको हो।
तर अहिलेको बजारले भने यो राजनीतिक संकटलाई पुरै बेवास्ता गरेको छ। प्रतिनिधि सभा भंग भएको एक दिन बजारमा प्रभाव पर्यो। त्यसपछिका दिनमा बजारमा राजनीतिक असर देखिएको छैन।
नयाँ उचाइ बनाएको केही दिनपछि फेरि अर्को उचाइ बजारले बनाउने गरेको छ। एक हप्ताअघिको उच्च अंकको रेकर्ड आज फेरि तोडिएको छ।
लगानीकर्ता पिताम्बर खरेल भन्छन् ‘राजनीतिभन्दा पनि तरलता, ब्याजदर, कम्पनीहरुको क्षमताजस्ता अन्य फ्याक्टरले बजारलाई असर पार्ने हो।’ लगानीका लागि अरु क्षेत्रमा अझै शंकोच रहेकाले पनि बजारमा पैसा आएको उनको बुझाई छ।
बैंकिङ क्षेत्र अझै तल्लो विन्दुमा नै रहेकाले सो क्षेत्र अबको रोजाईमा पर्ने उनले बताए। उनले भने ‘आज नेप्सेभन्दा बैंकिङ समूहको वृद्धि ठूलो छ, अब बैंकिङ क्षेत्र केही माथि जान सक्छ।’
यस्तै संकटका बेला नै खरिद गर्नेहरु बढी सक्रिय हुने गरेको उनको बुझाई छ। अर्कोतर्फ नयाँ लगानीकर्ता धेरै थपिएकाले पनि बजार केही उत्तेजित हुने गरेको उनले बताए। ‘बजार बढ्दा किन्न उत्साहित भइहाल्ने प्रवृत्ति पनि छ’ उनले भने।
‘यस्ता राजनीतिक संकट खरिद गर्नेका लागि सस्तोमा किन्ने अवसर पनि त हो, भोलि सर्वोच्चले कुनै निर्णय गरेपछि त बजार अझै बढ्न सक्छ, बाठा लगानीकर्ताले अहिलेको बेला किनेर त्यतिबेला नाफा लिएर बेच्छन्’ उनले भने।
यतिबेला बजारमा खरिद गर्ने र बिक्री गर्ने दुवैतर्फ चाप बढेको छ।
सेयर बजारका जानकार दिलिप मुनंकर्मीले अहिले खरिद गर्नेहरु र बिक्री गर्नेहरुबीच टसमस नहुने अवस्था देखिएको बताए।
‘बुक क्लोजका बेला सेयर होल्ड गर्ने कि बिक्री गर्ने भन्ने निर्णय अधिकांशले लिने गर्छन्, त्यसकारण खरिद र बिक्री दुवैतर्फ चाप बढेको देखिन्छ’ उनले भने।
बुक क्लोजका बेला नै प्रायः लगानीकर्ताले खरिद गर्ने वा बेच्ने निर्णय गर्ने भएकाले कारोबार पनि उल्लेख्य हुने गरेको छ। आइतबारदेखि लागू हुनेगरी ब्रोकरको कमिसन पनि घटेको छ। जसले गर्दा पनि लगानीकर्तालाई उत्साह थपिएको छ।
घटेको नयाँ ब्रोकर कमिसनको अधिकतम दर ०.४० प्रतिशत छ। ५० हजार रुपैयाँभन्दा कम रकमको कारोबार गर्दा सो रकमको ०.४० प्रतिशत ब्रोकर कमिसन बुझाउनुपर्छ। यसअघि ०.६० प्रतिशत थियो।