करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इसेवाबाट नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ।
अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो।
इसेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झट हटेको छ।
एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिने छ। इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिने बताइएको छ।
हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधैं मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको छ।
कसरी तिर्ने?
इसेवा मार्फत कर तिर्नका लागि पहिला आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जाने।
करदाताको पोर्टलमा गइ बायाँ तर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्स्पेयर लगइनमा क्लिक गर्नुपर्ने।
आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखेर पेमेन्ट भौचरमा क्लिक गर्ने। त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखी आफूले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्ने।
आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्ने। उक्त ट्रान्जेक्सन कोड टिपेपछि इसेवाको वेभसाइट खोल्ने। त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिस मा क्लिक गर्नुपर्नेछ ।
त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिन्छ।
आफूले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेभसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपछि पुरा भएको भनेर देखिन्छ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।