नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेको छ।
अनलाइन रजिष्ट्रेसन सेवाको शुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ।
यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको प्रवक्ता उद्धव सिलवालले जानकारी दिए।
योजनामा जुनसुकै व्यवसायमा संलग्न, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन्।
यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैँया देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन्।
बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिकरुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ।
पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ।
बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ बर्ष पश्चात समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भूक्तानी लिन सक्नेछन्।
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको छ।
नागरिक लगानी कोषको पेन्सन योजनाबारे विस्तृत जानकारी लिन पढ्नुस्- नागरिक लगानी कोषमा बचत राखेर पेन्सन पाइने, ऋण लिन पनि पाइने
कसरी रजिष्ट्रेसन गर्ने अनलाइनबाट ?
http://nlk.org.np/home मा गएपछि Eservice मा जानुस्। New-E-service login पश्चात Ragister For Penson Yojana मा जानुस्। सो पोर्टलमा उल्लेख भएबमोजिम विवरण भरेर पठाउनुपर्नेछ।