विगत एक सातादेखि दैनिक बढेको सेयर बजारमा मंगलबार 'ब्रेक' लागेको छ।
यस दिन बजार ५.५ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २३२६ अंकमा कायम भएको छ।
विगत एक सातादेखि बजार निरन्तर उकालो लागेको थियो। आजको गिरावटलाई बजारमा सामान्य करेक्सनका रुपमा लिइएको छ।
यस दिन परिसूचक घटे पनि कारोबार रकम बढेको छ। ७ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो ६ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।
यस दिन ब्यापार, जीवन बीमा र फाइनान्स समूह बढेका छन् भने अरु सबै घटेका छन्। ब्यापार ३९, जीवन बीमा ५३५ र फाइनान्स ३७ अंकले बढेका छन्।
बैंकिङ ८, होटल २६, विकास बैंक २४, जलविद्युत ८, निर्जीवन बीमा १२४, उत्पादन ३९, अन्य २८ र माइक्रोफाइनान्स ११ अंकले घटेका छन्।
यस दिन प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स, गोर्खा फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र प्रभु इन्स्योरेन्सको मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ९ प्रतिशतले बढेको छ।
सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.७ प्रतिशतले घटेको छ भने छ्याङ्दी हाइड्रोको मूल्य ५ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९१ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भयो।
त्यस्तै प्रभु बैंकको ३५ करोड ६१ लाख रुपैयाँको कारोबार हुँदा पुनर्बीमा कम्पनीको ३० करोड तथा टेलिकमको २९ करोड रुपैयाँ बराबरको कारोबार भयो।