प्रस्तावित नेपाल सहकारी बैंक दर्ताका लागि सहकारी विभागमा फाइल पेश भएको छ।
बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी, २५ सदस्यीय टोली र अन्य सहकारीकर्मीले विभागमा फाइल पेश गरेका हुन्।
अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजात सहित प्रकृया पुरा गरी बैंक दर्ता गर्न ५ सय ६९ फाइल रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरे। दिउँसो १ बजे विभाग पुगेको टोलीले फाइल हस्तान्तरण गरेको थियो।
फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रकृया अघि बढाउने जानकारी दिए।
उनले भने ‘फाइल बुझेका छौँ,अपुग भएमा फेरि कागजात मागेर प्रकृया थाल्नेछौँ।’ बैंक दर्ताको लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेश गरिएको थियो।
दर्ताका लागि ९ सय ७५ फाइल तयार भएको छ। बैंक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यक पर्नेमा ८ अर्ब तयार भएको अध्यक्ष भण्डारीले जानकारी गराए।
बैंक दर्ताको लागि सहकारी महासंघले समेत सहमति दिनुपर्नेछ। ऐन अनुसार बैंकको स्वीकृति नेपाल राष्ट्र बैंकले दिनेछ। यही माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पुर्ण प्रकृया पुरा गरी दर्ता प्रकृया अघि बढाएको थियो।
देशभरका करिब १ हजार सहकारी संस्था रहेको बैंक दर्तासँगै राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिने भण्डारीले बताए। विभागले स्वीकृत दिए लगत्तै राष्ट्र बैंकले सहकारी क्षेत्र समेट्ने गरी दोस्रो सहकारी बैंक स्थापना हुनेछ।
हालको राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति पाउन नसक्नु, सहकारी संस्थालाई वचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिना धितो ठूलो रकम प्रवाह गर्नु, बैंक सञ्चालनमा राजनीति हबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैकको आवश्यकता महसुस गरी दर्ता गरेको जानकारी दिए।
उनले प्रकृया शुरु भैसकेको अवस्थामा यस्लाई अन्य कसैले रोक्न नसक्ने दावी गरे। हालको राष्ट्रिय सहकारी बैंकका केही अधिकारीले दर्ता प्रकृया अघि बढ्न नदिन विभिन्न प्रपन्च अपनाएको उनले आरोप लगाए।