कारोबार भएको पहिलो दिनमा इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
पहिलो कारोबारका लागि नेप्सेले दिएको अधिकतम मूल्य प्रतिकित्ता ३४० रुपैयाँबाट कारोबार सुरु भएको थियो।
त्यसपछि प्रतिकित्ता ३४६, ३५२, ३५९, ३६६, ३७३ र अन्तिममा ३७४ रुपैयाँमा सेयर कारोबार भएको छ।
कुनै पनि कम्पनीको बजार मूल्य एक दिनमा १० प्रतिशतसम्म मात्रै बढ्न सक्छ। समग्र नेप्से घटेका बेला पनि इन्फ्रास्ट्रक्चर बैंकको मूल्य १० प्रतिशतले बढेको हो।
३७४ रुपैयाँमा किन्नका लागि १ः २३ बजेसम्म २३ लाख बढी कित्ता सेयर अर्डर राखिएको छ।
बेच्नेतर्फ भने सेयर छैन। यो कम्पनी विकास बैंक समूहमा सूचीकृत छ। यसले गर्दा केही दिन कम्पनीको बजार मूल्य बढ्न सक्नेछ।
यसअघि प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र चन्द्रागिरि हिल्सको पहिलो कारोबार मूल्य नै न्यून विन्दुबाट सुरु भएको थियो। प्रभु लाइफ इन्स्योरेन्सको १४१ रुपैयाँबाट कारोबार सुरु भएको थियो।
त्यस्तै चन्द्रागिरि हिल्सको १६४ रुपैयाँबाट कारोबार सुरु भएको थियो। पहिलो पटकको कारोबारका लागि नेप्सेले कम्पनीको नेट वर्थका आधारमा न्यूनतमदेखि अधिकतमसम्मको मूल्य तोकिदिएको हुन्छ।
पहिलो कारोबार न्यूनतम मूल्यबाट सुरु हुँदा मूल्य बढ्नका लागि धेरै समय लाग्छ भने अधिकतम मूल्यबाट कारोबार सुरु हुँदा केही दिनमै मूल्य धेरै बढ्ने गर्छ।
इन्फ्रास्ट्रक्चरभन्दा पहिले नै सूचीकृत भएको चन्द्रागिरि हिल्सको मूल्य अहिले १८८ रुपैयाँमा सीमित छ।