फोनबाट ऋण लिनेको संख्या सय दिनमा एक हजार जना पुगेका छन्। हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन्। ती हुन्ः नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंक। नेपालमा पहिलोपटक सुरु भएको फोन लोनमार्फत आर्कषण बढेको बैंकहरुको भनाइ छ।
एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको हो।
खातावालाहरुले आवश्यकता अनुसार ऋण मोबाइलबाट लिन सक्नेछन्। बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकहरूलाई सो सुविधा दिइन्छ। बैंकले दुई लाख रूपैयाँसम्म यस्तो लोन दिने गरेका छन्।
बैकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाईल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ।
यसका लागि बैंंक सम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झञ्झट हुँदैन। ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाईल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन्।
बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।
उनले भने ‘एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ। यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गर्यौं। जसलाई बैंकहरूले मान्नुभयो।’
उनकाअनुसार यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ। आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास छ।