माघको पहिलो सातादेखि नै वाणिज्य बैंकहरुमा निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढ्दै गएकोमा फागुनमा पनि निरन्तरता देखिएको छ।
फागुन महिनाको १ देखि २१ गतेसम्म २७ वाणिज्य बैंकमा निक्षेप २३ अर्ब थपिएको छ भने कर्जा प्रवाह ७१ अर्बले बढेको छ। फागुन २१ गतेसम्म आउँदा बैंकहरूले कुल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्, जवकि माघ मसान्तसम्म ३७ खर्ब ८६ अर्ब संकलन गरेका थिए।
त्यस्तै माघ मसान्तसम्म ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा फागुन २१ गतेसम्म कुल कर्जा ३३ खर्ब ८८ अर्ब पुगेको छ।

यसले गर्दा पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम साँघुरिँदै गएको छ। पछिल्लो समय आयात बढ्दै जाँदा बाहिरिने रकम बढेको छ। जसले गर्दा बैंकहरूमा लगानीयोग्य रकम साँघुरिँदै गएको छ।
यसले अगामी दिनमा बैंकको ब्याजदरमा दवाव पर्ने संकेत देखिएको छ। राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले भने, ‘तरलतामा परेको चापले ब्याजदर केही माथि जान सक्छ।’
चैत मसान्त (तेस्रो त्रैमास) सम्म बैंकहरूले पुरानै ब्याजदर कार्यान्वयन गर्नेछन्। चौथो त्रैमासको सुरूआतदेखि नै बैंकहरूले ब्याजदर बढाउन सक्ने छन्।
जब बैंकहरूमा निक्षेप अभाव हुन्छ, त्यसपछि बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्न बढी ब्याजदर दिने घोषणा गर्दै जान्छन्, जुन विगतमा देखिँदै आएको छ।
यसरी निक्षेपकर्तालाई दिने ब्याजदर बढेपछि बैंकहरूको कोष लागत (कस्ट अफ फन्ड) बढ्न जान्छ। कोषको लागत बढेसँगै बैंकहरूले त्यो भार ऋणीलाई थोपर्छन्। जसले गर्दा ऋणको ब्याजदर बढ्न जाने हो।
ऋणीबाट बैंकले असुल्ने ब्याज र निक्षेपकर्तालाई दिने ब्याजको औसत अन्तर ४.४ प्रतिशतभन्दा बढी गर्न पाइँदैन। ४.४ प्रतिशतको यही अन्तरभित्र रहेर ब्याजदर निर्धारण गर्न बैंकहरू स्वतन्त्र छन्।