नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सिइओ रामकृष्ण खतिवडाले केही दिनअघि एक अन्तक्रिया कार्यक्रममा लण्डनको स्टक मार्केटमा ३० मिलियन डलरको बण्ड जारी गर्ने तयारी भएको बताए।
उनको यो भनाइपछि सेयर बजारमा कम्पनीको मूल्य एक्कासी बढ्यो। आइतबार सो कम्पनीको मूल्य प्रतिकित्ता ५२३ रुपैयाँबाट बढेर ५३७ रुपैयाँ कायम भयो।
लण्डनको स्टक मार्केटमा कम्पनीले बण्ड जारी गर्ने तयारी गरिरहेको खतिवडाले बताएका थिए। नेपाल राष्ट्र बैंकबाट कम्पनीले वण्ड जारी गर्नका लागि स्वीकृत पाइसकेको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए।
‘८.५ प्रतिशत ब्याजमा बण्ड जारी गर्नका लागि स्वीकृति दिएको हो’ पोखरेलले सेतोपाटीसँग भने।
नेपाल स्टक एक्स्चेन्जलाई यसबारेमा जानकारी नगराइएपछि कम्पनीसँग स्पष्टिकरण माग गरिएको छ। नेप्सेले लण्डन स्टक एक्सचेन्जमा वण्ड सूचीकृत गर्ने भन्ने समाचारबारे सत्यतथ्य जानकारी माग गरेको हो।
त्यस्तै रणनीतिक साझेदार भित्र्याउने सम्वन्धमा पनि नेप्सेले स्पष्टिकरण सोधेको हो। ‘निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको हो?, त्यस कम्पनीले बैंक तथा वित्तीय संस्थाका लागि पनि बण्ड जारी गर्ने भन्ने समाचार कति मात्रामा सत्य हो/होइन?’ नेप्सेले प्रश्न साेधेको छ।
त्यस्तै कम्पनीको लाभांशबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना बाहिरिएको सम्वन्धमा पनि नेप्सेले निफ्रालाई स्पष्टिकरण सोधेको छ।
तीन दिनभित्र यसबारे स्पष्टीकरण दिन नेप्सेले भनेको छ।