मुलुकको आयात बढ्दै जाँदा राष्ट्र बैंकले झनै खुकुलो नीति लागू गरेको छ।
अब एक पटकमा अधिकतम १ लाख अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान आयात गर्न पाइने भएको छ।
आयातकर्ता तथा व्यवसायीको आग्रहपछि राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत संशोधित परिपत्र जारी गर्दै एक पटकमा अधिकतम १ लाख अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान आयात गर्न सकिने व्यवस्था गरेको हो।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले यसअघि यस्तो सीमा ५० हजार डलरसम्म रहेकोमा अहिले बढाइएको जानकारी दिए।
‘व्यवसायीहरुले लागत बढेको तथा असहजता भएको गुनासो गरेपछि सहजता दिन सीमा बढाइएको हो’ भट्टले सेतोपाटीसँग भने।
त्यस्तै खाद्य तथा पेय पदार्थ आयात गर्दा सरकारको सम्वन्धित निकायबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
आयात सम्वन्धी कागजातमा उल्लेखित आयातकर्ता, निर्यातकर्ता परिमाण र मूल्य सम्वन्धी विवरण अनुमतिपत्रमा उल्लेख भएको विवरणसँग मेल खाएको हुनुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले गरेको खुकुलो व्यवस्थाले झनै आयात बढ्न सक्ने जोखिम भने देखिएको छ। बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिना अर्थात साउनदेखि माघ मसान्तसम्म कुल ८ खर्ब ३ अर्ब रुपैयाँको बस्तु आयात भएको छ।
यो आयात रकम गत वर्षको सोही अवधिको तुलनामा ०.०१ प्रतिशतले बढी हो। गत वर्ष समीक्षा अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो।