कोरोना बीमाको दावी भुक्तानी ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। कोरोना बीमा गरेपछि संक्रमित भई बीमा रकम दावी गरेका ५३ हजार ३२४ जनालाई सो रकम भुक्तानी भएको हो।
बीमा रकम दावी गरे आवेदन दिएका कुल ८६ हजार ६१२ जनाको कागजात र प्रक्रिया पुरा भएकोमा ५३ हजार ३२४ जनाले रकम पाएका छन्।
बीमा समितिका अनुसार थप ३३ हजार २८८ जनाले बीमा रकम पाउने छन्। यीमध्ये इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ९ हजार जनाको आवेदन स्वीकृतिको पर्खाइमा छ। हालसम्म बीमा दावी गर्दै परेका आवेदनमध्ये ५५० वटा आवेदन अस्वीकृत भएका छन्।
प्रक्रिया पुरा गरेका ३३ हजार २८८ जनालाई रकम भुक्तानी गर्दा थप ३ अर्बभन्दा धेरै रकम जरुरत पर्दछ। त्यो सबै रकमको दायित्व सरकारमा सरेको छ।
चैत मसान्तसम्म परेका आवेदनमा कोरोना बीमाको रकम भुक्तानी गर्नुपर्छ। बीमा गराएपछि संक्रमित भए पनि चैत मसान्तपछि परेका आवेदनमा बीमा रकमको दावी भुक्तानी हुने छैन।
अहिलेसम्म एक अर्ब रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनीले नै बेहोरेका छन्। त्यस्तै १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्मको रकम नेपाल पुनर्बीमा कम्पनीले बेहोरेको छ।
२ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बीमक कम्पनीहरूको महाविपत्ति पुलले र साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्म भुक्तानी गर्नुपर्दा बीमा समितिले बेहोरेका छन्।
साढे ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नु परेमा सरकारले बेहोर्ने मापदण्डमा उल्लेख छ।