बिहीबार सेयर बजारको परिसूचक नेप्से २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से २५४८ अंकमा कायम भएको छ। यस दिन कुल ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो।
ब्यापार १७४, होटल तथा पर्यटन १५४ र लगानी समूह १ अंकले बढे भने अरु सबै समूह घटेका छन्। बैंकिङ १९, विकास बैंक १९, जलविद्युत ४४, फाइनान्स २, निर्जीवन बीमा ५४, उत्पादन ४९, अन्य ३७, माइक्रोफाइनान्स ४७ र जीवन बीमा समूह १६९ अंकले घटे।
चन्द्रागिरि हिल्सको मूल्य यस दिन पनि १० प्रतिशतले बढेको छ। कम्पनीको मूल्य प्रतिकित्ता १८९ रुपैयाँले बढेर २ हजार ७९ रुपैयाँ कायम भएको छ। त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य पनि १० प्रतिशतले बढ्यो।
कम्पनीको मूल्य प्रतिकित्ता २२२९ रुपैयाँ छ। ओमी माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९७३ रुपैयाँ कायम भयो।
सिद्धार्थ इन्स्योरेन्स र माउन्टेन हाइड्रोको मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ। बोटलर्स नेपालको मूल्य ६ प्रतिशतले बढ्यो।
नेपाल बंगलादेशको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। नबिलसँग मर्जको हल्ला चलेपछि अकस्मात बढेको कम्पनीको मूल्यमा यस दिन सुधार आएको हो। नेपाल बंगलादेश बैंकको मूल्य प्रतिकित्ता ३६७ रुपैयाँ कायम भयो। हिमालय उर्जा विकास, सान्जेन र रसुवागढी जलविद्युतको मूल्य ४ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ९१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ६०८ रुपैयाँ कायम भएको छ।
माथिल्लो तामाकोसीको यस दिन २६ करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य केही घटेर प्रतिकित्ता ७७५ रुपैयाँ कायम भयो।