सोमबार सेयर बजार परिसूचक नेप्से ५. ४५ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से २५४३ अंकमा कायम भएको छ। यस दिन कारोबार रकममा पनि कमी आएको छ। कुल ४ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
बैंकिङ ६, ब्यापार २१२, होटल तथा पर्यटन १४४, निर्जीवन बीमा समूह २१, उत्पादन २०, अन्य १९, जीवन बीमा ३० अंकले घटेका छन्। लगानी र विकास बैंक समूहको गिरावट १ अंकमुनि सीमित रह्यो।
त्यस्तै जलविद्युत समूह २४, फाइनान्स ५ र माइक्रोफाइनान्स समूह ४४ अंकले बढेका छन्।
यस दिन तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। उन्नति सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। आजको कारोबारपछि उन्नतिको मूल्य २७६१, अजोडको ७७६ र महिलाको ५९१ रुपैयाँ कायम भएको छ। महिला हालै बजारमा सूचीकृत भएको कम्पनी हो।
समिट लघुवित्तको मूल्य ९ प्रतिशतले बढ्यो भने रिडि हाइड्रोपावर डेभलपमेन्टको मूल्य ७ प्रतिशतले बढेर २१० रुपैयाँ कायम भयो।
अघिल्लो दिनसम्म १० प्रतिशतले बढेको चन्द्रागिरि हिल्सको मूल्य भने यस दिन सबैभन्दा धेरैले घटेको छ। सो कम्पनीको मूल्य ७. ३ प्रतिशतले घटेर १९२७ रुपैयाँ कायम भयो।
त्यस्तै माउन्टेन हाइड्रोको मूल्य ६ प्रतिशतले घटेर २६६ रुपैयाँमा कायम भएको छ भने साल्ट ट्रेडिङको मूल्य ४.८ प्रतिशतले घट्यो।
कारोबारका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य पनि सामान्य घटेर प्रतिकित्ता ६०८ रुपैयाँ कायम भयो।
त्यस्तै माथिल्लो तामाकोसीको ३८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर ८ सय रुपैयाँ कायम भएको छ। माथिल्लो तामाकोसीपछि यस दिन चन्द्रागिरि हिल्सको ३७ करोड रुपैयाँ बराबरको कारोबार भयो।