चैतको दोस्रो सातामा २७ वाणिज्य बैंकहरुको निक्षेप १० अर्बले बढ्दा कर्जा प्रवाह भने २७ अर्बले बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ्कअनुसार चैत ६ गतेदेखि १३ गतेसम्म आउँदा निक्षेपभन्दा कर्जा प्रवाह २. ७ गुणाले बढेको हो। चैत ६ गतेसम्म वाणिज्य बैंकहरुमा ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेकोमा १३ गतेसम्म आउँदा ३८ खर्ब ५० अर्ब पुगेको छ।
त्यस्तै ६ गतेसम्म ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १३ गतेसम्म आउँदा ३४ खर्ब ६२ अर्ब पुगेको छ।
यसले पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम (तरलता) कसिलो हुँदै गएको देखिन्छ।
बैंकहरुले कुल निक्षेप र मुल पुँजीको योगफलमा ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन्। कतिपय बैंकको ८० प्रतिशत सीमा नाघिसकेको छ।
यसले गर्दा आगामी बैशाखदेखि बैंकहरुको ब्याजदर बढ्ने संकेत देखिएको छ। हाल बैंकहरुले व्यक्तिगत निक्षेपकर्तालाई मुद्दतीमा बढीमा ८ प्रतिशतसम्म र बचतमा साढे ५ प्रतिशतसम्म मात्रै ब्याजदर प्रदान गरिरहेका छन्।
एक पटक एक लाख अमेरिकी डलरसम्मको सामान आयात गर्न पाउने र ग्राहकले बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक पाँच सय अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था हालै राष्ट्र बैंकले गरेको छ। यी निर्णयका कारण पनि तरलतामा थप चाप पर्न सक्नेछ।
यद्यपि सरकारको पुँजीगत खर्च बढ्न गएमा त्यसले केही सहजता हुने बताउँछन् नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका सिइओ भुवनकुमार दाहाल।
'विगतलाई हेर्दा पनि जेठ–असारताका पुँजीगत खर्च बढ्ने गरेको देखिन्छ। त्यसकारण अब पुँजीगत खर्च बढेर जाने र तरलताको ठूलो समस्या हुनु नपर्ने हो,' उनले भने।
हाल तरलता साँघुरिँदै गएका कारण बैशाखदेखि सामान्य दरमा ब्याजदर बढ्ने बैंकरहरू बताउँछन्।