सहकारी र लघुवित्त कम्पनीहरु पनि डिजिटल भुक्तानी सञ्जालमा जोडिने भएका छन्।
नेपालमा डिजिटल भुक्तानी सेवाप्रदायकको रुपमा रहेको इसेवाले यस्तो सञ्जालमा जोड्नका लागि इन्फो डेभलपर्ससँग सम्झौता गरेको छ।
सहकारी र लघुवित्त कम्पनीलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले यी दुई कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फो डेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन्।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो अहिले पनि ९० प्रतिशत भन्दा धेरै रकम नगदमा कारोबार भइरहेको बताए। नगद बिहिन कारोबार बढाउनका लागि सानो भन्दा सानो वित्तीय इकाइमा सेवा पुर्याउनुपर्ने उनको भनाइ छ।
सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरेका सहकारी तथा माइक्रो फाइनान्स् डिजिटल भुक्तानीमा जोडिनेछन् । उनीहरुले कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्नेछन् । जसबाट सहकारी तथा माइक्रो फाइनान्स्का सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स् भुक्तानी, एक सहकारी खाताबाट अर्को सहकारी खातामा रकम ट्रान्स्फर, बैंकमा रकम ट्रान्स्फर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउनेछन् । यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्स्का सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउनेछन् ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।