निर्देशिकाविपरीत सेयर कारोबार गरेको आरोपमा बीमा समितिले जनरल इन्स्योरेन्सका संचालक दीपेन्द्र अग्रवाललाई निलम्वन गरेको छ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अग्रवालका सम्वन्धमा अनुसन्धान गर्नका लागि संचालकबाट निलम्वन गरिएको जानकारी दिए।
‘हामीले उहाँलाई स्पष्टिकरण सोधेका छौं, स्पष्टिकरण आएपछि अनुसन्धान हुनेछ’ पौडेलले भने ‘दोषी देखिए उहाँलाई कारबाही हुन्छ, दोषी नदेखिए निलम्वन फुकुवा हुन्छ।’
केही कम्पनीको संस्थापक सेयरधनी रहँदारहँदै पनि ती कम्पनीको साधारण सेयर सेयर खरिद गरेको आरोप अग्रवालमाथि छ।
संस्थापक सेयरधनीले साधारण सेयर खरिद गर्न नपाइने व्यवस्था विपरित कार्य गरेको आरोप लगाउँदै बीमा समितिले स्पष्टीकरण सोधेको हो।
अनुसन्धानको प्रक्रियाका लागि मात्रै अग्रवाललाई संचालकबाट निलम्वन गरिएको समितिको भनाइ छ।