सोमबार सेयर बजारको परिसूचक नेप्से ३७ अंकले घटेको छ। ३७. ५८ अंकको गिरावटपछि परिसूचक २६६१ अंकमा कायम भएको छ।
यस दिन कारोबार रकम पनि खुम्चिएको छ। हिजो ८ अर्ब बढीको कारोबार भएकोमा सोमबार ६ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो।
जलविद्युत र फाइनान्स समूह क्रमशः ३ र ६ अंकले बढे भने अरु सबै समूह घटेका छन्। बैंकिङ ३४, ब्यापार १०७, होटल तथा पर्यटन २४०, विकास बैंक ५६, निर्जीवन बीमा २३९, उत्पादन ४१, अन्य २६, माइक्रोफाइनान्स ६२ र जीवन बीमा समूह १२९ अंकले घटे।
समग्र बजार घट्दा दुई कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। ती कम्पनीको सेयर खरिदका लागि अत्याधिक चाप पर्दा बिक्री गर्नेहरु छैनन्। ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
आजको कारोबारपछि ज्योति लाइफको मूल्य प्रतिकित्ता ६८३ रुपैयाँ र महिला लघुवित्तको १४६० रुपैयाँ पुगेको छ। यी दुवै कम्पनी आफ्ना समूहमा 'राम्रा' कम्पनी हुन्।
तसर्थ दुवै कम्पनीको मूल्य यो साताभर १० प्रतिशतकै हाराहारीमा बढ्ने अनुमान छ। त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ५ प्रतिशतले बढेर ५८८ रुपैयाँ कायम भएको छ।
यस दिन चन्द्रागिरि हिल्सको मूल्य साढे ९ प्रतिशतले घटेको छ। प्रतिकित्ता २२९ रुपैयाँ मूल्य घटेर २१८० रुपैयाँ कायम भएको छ। कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नोक्सानी १८ करोड पुगेको छ।
प्रतिसेयर आम्दानी ११ रुपैयाँ ऋणात्मक छ। जसले गर्दा कम्पनीको सेयर बिक्रीमा चाप परेको हो। यसअघि अप्रत्यासित रुपमा बढेको कम्पनीको मूल्य अझै घट्न सक्नेछ। त्यस्तै सप्तकोसी विकास बैंकको मूल्य साढे ५ प्रतिशतले घटेको छ।
कारोबारका रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रह्यो। सो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य करिब ३ प्रतिशतले घटेर ३९९४ रुपैयाँ कायम भएको छ।
त्यस्तै एचआइडिसिएल कम्पनीको २४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य भने करिब ५ प्रतिशत बढेर ४७९ रुपैयाँ कायम भएको छ।
निफ्रा, एनआइसी एसिया लघुवित्त र माथिल्लो तामाकोसी पनि कारोबार रकमका आधारमा अगाडि रहे। तीमध्ये तामाकोसीको मूल्य २ प्रतिशतले बढेको छ भने अरु दुईको सामान्य घटेको छ।
यो पनि हेर्नुस्- चन्द्रागिरि हिल्स १८ करोड नोक्सानमा,