आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद दिने प्रस्तावलाई स्वीकृत गरेको छ।
भर्चुअल माध्यमबाट भएको कम्पनीको २३औं साधारण सभाले हालको चुक्ता पूंजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपछि जारी गर्नेगरी ४० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित गरेको हो।
बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने अध्यक्ष हेमराज ढकालले जानकारी दिए।
ढकालले कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरीस्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको र आजको सभाको निर्देशन वमोजिमनै निकट भविष्यमानै उक्त जग्गामा भबन निर्माणको कार्य अगाडि बढाइने जानकारी गराए।
त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले क्रमश आफ्नो स्थान माथि बढाउँदै गएकोमा निकट भविष्यमानै ५औं स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको बताए।
हाल कुल बीमाको पहुँच २६ प्रतिशत छ। समग्र बीमाक्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत छ।पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ।
आव २०७५/७६ मा कम्पनीले १ अर्ब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दांजोमा १०.४५ प्रतिशतले बीमा शुल्क वृद्धि भएको कम्पनीले जनाएको छ।
चालु आबको चैत मसान्तसम्ममा कम्पनीले कूल १ अर्ब १४ करोड बीमा शुल्क आर्जन गरिसकेको कम्पनीको भनाइ छ।