विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने कुरालाई स्वीकारिसकेको छ।
अर्थात अब कुनै पनि क्षेत्र सुरक्षित रहेन। अझ मान्छेको चहल-पहल हुने क्षेत्र त झनै जोखिमयुक्त भनी बुझ्दा फरक नपर्ला। यस अवस्थामा निषेधाज्ञा भएता पनि सडकमा अझै पनि सवारी साधनको आवत-जावत देखिन्छ, अत्यावश्यक क्षेत्रमा कार्यरत कर्मचारीहरु नै हुनु पर्दछ।
लोकन्थलीबाट सिंहदरबार अगाडिसम्म जाँदै गर्दा मलाई तीन ठाउँमा जाँच गरिन्छ। मलाई पास बोकेर यस्तो समयमा हिँड्न गर्व हुँदैन, डर लाग्छ। मलाई थाहा छ, यस्तो समयमा घरै बसेको उपयुक्त हो तर हामी बैंकमा काम गर्नेहरु, जसलाई खासै अत्यावश्यक भनी पहिचान गरिँदैन। तर जोखिम बोकेरै दैनिक कार्यमा लागेका छौं।
अस्पतालमा कार्यरत डाक्टर, नर्स लगायत स्वास्थकर्मीजस्तो हामी कोरोना बिरामीलाई उपचार त गर्दैनौं, तर अप्रत्यक्ष रुपमा बैंकले गर्ने सहयोगको चर्चा कतै सुनिँदैन।
अस्पतालको बिल भुक्तानी गर्नको निमित्त गर्नुपर्ने रकम जम्मा, बैंककै माध्यमबाट हुने गर्दछ। बिरामी अस्पतालमा छन्, तुरुन्त पैसा चाहियो भन्दै आफन्त आउँदा बैंक बन्द गरेर राख्न पनि मिल्दैन।
होला, बैंकको संख्या धेरै भएर महत्व नबुझिएको होला, तर खोलिएका शाखाहरुमा देखिने भिड र चापले बैंकको संख्या धेरै भयो भनेर कसरी भन्न सकिन्छ र? औषधि आयात गर्न खोलिने प्रतितपत्र वा टिटी बैंकमार्फत हुने गर्दछ, यदि बैंक नै बन्द रहने हो भने यस महामारीको अवस्थामा खाद्य वस्तुको आयातका लागि रकम भुक्तानी कसरी गर्ने? तसर्थ अप्रत्यक्ष रुपमा बैंकमा काम गर्ने सबै कर्मचारीहरुले यस महामारीसँग जुध्न सहयोग गरेका छन् भनी बुझ्न आवश्यक छ।
‘मेरो गर्भवती श्रीमती कोरोना संक्रमण भइन्’ भनी सँगै काम गर्ने सहकर्मी कार्यालय आउँदा मौन भएर काम गर्नु पर्ने अवस्था छ।
सम्झिँदै डर लाग्ने, सोच्दै अत्यास आउने त्यस्तो अवस्थामा पीडितलाई झन् कति गाह्रो भएको होला! डर हामीलाई पनि लाग्छ, सँगै काम गर्ने सहकर्मी कोरोनाबाट संक्रमित हुँदा, ग्रसित हुँदा र मृत्युसम्म हुँदा हामी काम नै रोक्न सक्ने अवस्थामा पनि छैनाैँ, राजपत्रमै उल्लेख भए अनुसार बैंक लगायतका वित्तीय सेवाहरु अत्यावश्यकभित्र नै पर्ने गर्दछन्।
ग्राहक बैंक प्रवेश गर्दा, एउटा चिनियाँ थर्मोमिटरको भरमा हामी प्रवेश दिन्छौँ, हामीलाई थाहा हुँदैन उक्त ग्राहकले पिसिआर टेस्ट गराएको छ या छैन। कन्ट्याक्ट ट्रेसिङमा परेको छ या छैन। मात्र उ बैंक आउनुको अर्थ सार्थक पार्छौं।
क्यास काउन्टरमा बस्ने साथीहरुले सबै ग्राहक जोखिमपूर्ण छन् भन्ने अनुमान गरेर कार्य गर्नु पर्ने हुन्छ। हो, पन्जा, मास्क लगायतका सम्पूर्ण मापदण्ड पालना गर्दागर्दै पनि बैंकमा काम गर्ने हामी यसबाट जोगिन सकेका छैनौं।
आज संक्रमण हुनेहरु पन्ध्र बीस दिनपश्चात ठिक भएर पुनः आफ्नो कार्यमा जुट्ने गर्छौं। फ्रन्टलाइनरको तस्बिरमा कतै बैंकर पनि राखिएको छ कि भनी बेला बखत हेर्ने गर्छु, तर त्यहाँ कतै पनि देखिँदैन। खैर, हामी प्रत्यक्ष रुपमा अगाडि नआएको होला भनी चित्त बुझाउँछु।
डर कसलाई पो लाग्दैन र? सँगै काम गर्ने साथी सिकिस्त बिरामी भनी सुन्दा, सँगै काम गर्ने सहकर्मीको सम्पूर्ण परिवार संक्रमित भनी सुन्दा, आखिर हामी पनि एकै ठाउँबाट घर फर्किएका हाैँ।
आफै संक्रमित भइयो कि भन्ने आशंकासहित फर्कँदा घरमा परिवारको अन्य सदस्यलाई सारिँदै पो छ कि भन्ने अर्को पिर हुन्छ। आमा भन्दै घर फर्किनासाथ कुदेर आउने त्यो सानो बच्चालाई कसरी एक आमाले पर जा, नजिक नआइज भन्न सकुन्?
तर यहाँ बैंकको कर्मचारीलाई कोरोना संक्रमण भनी कतै उल्लेख हुँदैन। तथ्यांक बटुल्ने गरिन्छ, केन्द्रीय कार्यालय पठाइन्छ, सायद त्यहाँबाट नियामक निकायमा पनि पठाइन्छ, अनि त्यतिमै सकियो!
हामीलाई थाहा छ, बैंकको भूमिका र महत्व- तपाईको किचनदेखि देशकाे अर्थतन्त्रसम्म। त्यसैले यस्तो महामारीमा पनि हामी बैंक खुल्नु पर्छ भन्ने पक्षमै रहने गरेका छौं। परिवारलाई यस्तो अवस्थामा छोरा अफिस नगइदियोस भन्ने लाग्नु स्वाभाविक हो।
तर हामी कार्यरत संस्थाप्रति, मुलुकको अर्थव्यवस्थाप्रति हाम्रो जिम्मेवारी बुझेका छौं। हामीलाई ग्राहक भगवान हो भनी सिकाइएको हुन्छ र सकेसम्म आफ्नो क्षमताले भ्याएसम्म ग्राहकलाई सधै उचित स्वागत गर्ने परिपाटी रही आएको छ।
सायद त्यही भएर पनि अहिले ग्राहक एउटा सामान्य बहाना बनाएर बैंक आउँदा पनि हामीले तपाईं किन आउनु भएको भनी सोध्न सक्दैनौँ। सम्वन्धित ग्राहकप्रति सेवा पुरा गरेर नै पठाइदिन्छौँ।
कुनै एक ग्राहक मात्र हैन सबैलाई सामाजिक दूरी कायम गर्न अनुरोध समेत गर्छौं, यसमै दुवै पक्षको भलाई रहेको बुझ्छौँ।
ग्राहकले जम्मा गरेको पैसा, ग्राहकले चाहेको समयमा ग्रहकलाई दिनु पर्छ, यसमा हाम्रो गुनासो हुँदैन। अपेक्षा हुन्छ कि सम्पूर्ण ग्राहक, समाज र सरोकारवाला निकायप्रति सतर्कता र सजगताको।
सीमित समय मात्र भए पनि बैंक खोलेर हामीले सेवा प्रदान गरिरहँदा हाम्रा पनि केही अपेक्षा हुन्छन्। यो महामारीसँग जुध्न हामी सबैको एकअर्काप्रति साथ आवश्यक छ। एउटा बैंकरको नाताले के अनुरोध गर्दछु भने अहिले बैंकमा आउने ग्राहकहरुको करीब ७० प्रतिशत काम घरबाट मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङबाट नै समाधान हुन्छ।
अर्थात खाताको रकम सोध्न, स्टेटमेन्ट हेर्न बैंक आइरहनु पर्दैन। कसैको खातामा रकम जम्मा गरिदिन घरबाट नै सम्भव हुन्छ, यस्तो कार्य घरबाट नै गर्न अनुरोध पनि गर्छु।
प्रविधिको प्रयोग हुँदा केही प्राविधिक समस्या आउनु सामान्य हो, त्यस्ता समस्याको हलको निमित्त इमेल, फोनबाट नै हामी समाधान गरिदिन्छौँ। हाम्रो कारणले ग्राहकलाई मर्का नपरोस भनेर नियमित रुपमा नियम बमोजिम शाखा संचालन पनि गरिरहेका छौँ।
पैसा सबैलाई चाहिन्छ, हामीलाई थाहा छ पैसा को महत्व। तर खातामै रकम जम्मा भएको दिन भिड गर्ने पेन्सनर, सामाजिक सुरक्षा भत्ता बाहकहरु, उपोभोक्ता समितिहरुले झन् जाेखिम बढाउँछन्।
अत्यावश्यक परेको खण्डमा मात्र बैंक जाने गरौँ, हामी त असुरक्षित छौं नै, तपाईं असुरक्षित नहुनुहोस्। अत्यावश्यक सेवा रोक्न हामीसँग विकल्प हुँदैन, तर तपाईंहरुसँग सेवा प्रयोगका विकल्प हुन सक्छन्, त्यसतर्फ केन्द्रित होऔं।
बैंक कोरोनाको हब भयो भनी समाचार आउँदा हाम्रो मन त आत्तिन्छ नै, घर परिवारमा अर्को तनाब हुने गर्दछ। बैंकलाई कोरोनाको हब बनाउने हाम्रो रहर हैन। तपाईंको साथ र सहयोग यो बेला हामी सबैलाई सहयोगी हात हुनेछ। डिजिटल कारोबार तर्फ केन्द्रित होऔं, आफू सुरक्षित रहौं, अरुलाई सुरक्षित राखौं!