कोरोनाको संक्रमण दर नियन्त्रणका लागि भन्दै यतिबेला काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश जिल्ला निषेधित छ।
अत्यावश्यकबाहेकका सवारीसाधन पूर्ण रुपमा बन्द छन्। औषधि खाद्यान्न लगायत दैनिक उपभोग्य सामानको मात्रै वितरण भइरहेको छ।
उद्योग, कलकारखाना बन्द छन्। आर्थिक गतिविधि साँघुरिएको छ। संक्रमणको दरमा कमी आएर निषेधाज्ञा कहिले खुल्छ, अनिश्चित छ।
यस्तो बेला सेयर बजारले भने नयाँ रेकर्ड बनाएको छ। आइतबार परिसूचक नेप्से २७३८ अंकमा पुगेको छ। यो अंक अहिलेसम्मकै उच्च हो। त्यति मात्रै होइन, एकै दिन १० अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आखिर, किन बजार बढ्यो त?
निषेधाज्ञा नै बजार बढाउनका लागि अनुकूल वातावरण बनेको लगानीकर्ताको बुझाई छ। सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल भन्छन्– ‘लगानीका लागि अन्य क्षेत्र देखिएका छैनन्, घरमै बसेर कारोबार गर्न सकिने भएकाले त्यतातिर लगानी डाइभर्ट भएको हुन सक्छ।’
अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा पैसा सेयर बजारमा जाने गर्छ। त्यस्तै निषेधाज्ञाका बेला फुर्सदमा रहँदा कतिपय व्यवसायीहरु नियमित कारोबार गर्नेगरी बजारमा सक्रिय हुने गरेका छन्। यसले पनि बजार बढ्ने गरेको अर्यालको भनाइ छ।
निषेधाज्ञाका बेला निजी तथा सार्वजनिक सवारीसाधन चल्दैनन्। यसले गर्दा पेट्रोलियम पदार्थको खपत कम हुन्छ। मुलुकमा सबैभन्दा धेरै आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ पर्दछ।
पेट्रोलियम पदार्थको आयात कम हुन गई आगामी दिनमा तरलता बढ्न जाने अनुमान लगानीकर्ताको छ। अर्का लगानीकर्ता पिताम्बर शर्मा खरेल भन्छन् ‘आयातमुखी अर्थतन्त्र भएको देशमा जब आयात हुँदैन, बाहिर पैसा जाँदैन यहीं थुप्रिँदा तरलता बढ्न जान्छ।’
बढी तरलता हुनु भनेको बजारका लागि अनुकूल हो। तरलता पर्याप्त हुँदा ब्याजदर बढ्न पाउँदैन। यसले गर्दा निक्षेपमा पैसा राख्नेहरु पनि बजारमा आकर्षित हुने र ऋण लिनेहरु पनि आकर्षित हुने गर्छन्।
यसअघिको लकडाउन पनि बजारका लागि अनुकूल भयो। लकडाउनपछि तरलता थुप्रिन जाँदा बजार ह्वात्तै माथि बढेको थियो।
लकडाउन वा निषेधाज्ञामा रेमिट्यान्स समेत घट्नुको साटो झनै बढेको तथ्यांकले देखाउँछ। रेमिट्यान्स नघट्ने, आयात कम हुँदा बाहिरिने रकममा कमी आएपछि तरलता बढ्न जान्छ।
हाल धेरै कम्पनीको सेयर मूल्य सस्तो हुँदा पनि बजार बढेको अर्याल बताउँछन्। ‘बैंक तथा वित्तीय संस्थाको बजार हिस्सा धेरै छ, तर तिनै कम्पनीको सेयर मूल्य सस्तो छ’ उनले भने ‘पिई रेसियो, बुक भ्यालु, इपिएस लगायतका आधारमा बैंक तथा वित्तीय संस्थाको सेयर सस्तो हो।’
संकटले बहार ल्याउने नेपालको सेयर बजार
संकटपछि नेपालको सेयर बजार बढ्ने गरेको इतिहास पनि छ। २०७२ बैशाख १२ गते भूकम्प गयो, जतिबेला नेप्से ९४६ अंक आसपासमा थियो। बारम्बार कम्पन उत्पन्न भइरहे।
सो वर्षकै असोजबाट नाकाबन्दी सुरु भयो। भूकम्प र नाकाबन्दीपछि सेयर बजार घट्नुको साटो बढ्न थाल्यो र २०७३ साउनमा नयाँ रेकर्ड १८८१ अंक कायम गर्यो।
२०७६ चैत ११ देखि कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै लकडाउन गरियो। सेयर बजार समेत केही महिना बन्द गरियो।
असार १५ गते मात्रै बजार खुल्यो, सो दिन बजारको परिसूचक नेप्से १२२३ अंकमा थियो।
त्यसपछि बजार उकालो गतिमा लाग्न थाल्यो। १ वर्षपछि नै अर्थात २०७८ बैशाख २ गते सबैभन्दा उच्च २७१४ अंकमा पुग्यो।
अहिले फेरि निषेधाज्ञा गरिएको छ। यो संकटले पनि बजारमा अर्को नयाँ रेकर्ड बनाइसकेका छ। फेरि बजार केही माथि बढ्ने अनुमान लगानीकर्ताले गरेका छन्।