नयाँ पुनर्बीमा कम्पनी खोल्नका लागि ५ वटा आवेदन परेको छ। बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बुधबार १२ बजेपछि आवेदन लिने कार्य बन्द भएको छ।
५ कम्पनीहरु ओरेन्टल रि, काठमाडौं रि, अन्नपूर्ण रि, हिमालयन रि र जेन्युन रि इन्स्योरेन्स कम्पनीले आवेदन दर्ता गरेको पौडेलले जानकारी दिए।
‘आवेदन दिएका यी कम्पनीबाट अब तोकिएका शर्त पुरा गरेकाहरु पहिला छनौट गरिन्छ, त्यसपछि तीमध्ये पनि मूल्यांकनका आधारमा सबैभन्दा उत्कृष्ट कम्पनीलाई लाइसेन्स दिइन्छ’ पौडेलले भने।
पुनर्बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १० अर्ब तोकिएको छ। जसमा संस्थापकको तर्फबाट न्यूनतम ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म र बाँकी कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिएर पुँजी जुटाइन्छ।
प्रस्तावकले यसअघि नै हाल संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो प्रस्ताव अस्वीकार हुनेछ।
हाल एउटा मात्रै नेपाल पुनर्बीमा कम्पनी संचालनमा छ। कम्पनीमा सरकारको सेयर हिस्सा ४४ प्रतिशत छ भने सर्वसाधारणको १६ प्रतिशत। बाँकी करिब ४० प्रतिशत स्वामित्व विभिन्न संघसंस्था र बीमा कम्पनीहरूको छ।
जीवन र निर्जीवन गरी हाल भएका ३९ बीमा कम्पनीले जति रकमको पुनर्बीमा गर्छन्, त्यसको कम्तीमा २० प्रतिशत स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने बाध्यकारी व्यवस्था छ।
एकातिर निश्चित प्रतिशत स्वदेशकै कम्पनीमा पुनर्बीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था, अर्कोतिर सरकारी स्वामित्वको एउटा मात्रै कम्पनी खुलेपछि निजी क्षेत्रले आपत्ति जनाउँदै आएको थियो।
प्रस्तावित काठमाडौं रिइन्स्योरेन्सका संस्थापक तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिइओ रमेशकुमार भट्टराईले निजी क्षेत्रबाट एउटा पुनर्बीमा खुलेपछि प्रतिस्पर्धा हुन जाने बताए।
'विदेशबाट पनि व्यवसाय ल्याउनुपर्छ, त्यो क्षमता हालको पुनर्बीमा कम्पनीसँग छैन। कम्तीमा दुई कम्पनी हुँदा प्रतिस्पर्धा हुन्छ,' भट्टराईले सेतोपाटीसँग भने।
भट्टराईका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनाबाटै कम्पनी संचालन गर्न सकिनेछ।