सेयर बजार उच्च विन्दुमा पुगेका बेला धितोपत्र बोर्डले आफूलाई विज्ञ ठान्ने व्यक्ति र संचार माध्यमहरुलाई खरिद वा बिक्रीका लागि सर्वसाधारणलाई उत्साहित नगराउन निर्देशन दिएको छ।
बोर्डले सेयर खरिद वा बिक्रीका लागि उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न र नगराउन निर्देशन दिएको छ।
धितोपत्रसम्वन्धी ऐन २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोबार सम्वन्धी कसूर गरेको मानिने बोर्डले सूचित गराएको छ।
त्यस्तै अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिप्राप्त गरेका व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययनको आधारमा मात्र दोस्रो बजार सूचकांक तथा सूचिकृत संगठित संस्थाको सेयर मूल्यको विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था रहेको बोर्डले जनाएको छ।
विभिन्न व्यक्ति र समूहले केही संचार माध्यम र सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरु खरिद गर्न वा बिक्री गर्न वा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अन्तरवार्ता तथा अभिव्यक्ति दिइरहेको देखिएको बोर्डले दावी गरेको छ।
संचार माध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट नेप्से परिसूचक तथा संगठित संस्थाको सेयर मूल्य बढ्ने वा घट्ने विषयमा टिकाटिप्पणी तथा सूचना संप्रेषण गरी निश्चित सेयरहरु किन्न उक्साउने वा नकिन्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपले संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले कार्य नगर्न बोर्डले सम्वद्ध व्यक्ति तथा संचारमाध्यमलाई निर्देशन दिएको छ।
बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी संचालनबाट मात्रै लगानीकर्ताको हित संरक्षण हुने भन्दै बोर्डले यदी यो निर्देशनको अवज्ञा गरी यस्ता कार्यलाई निरन्तरता दिएमा ऐनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
बजारको परिसूचक नेप्से हाल २८ सयनजिक पुगेको छ। बिहीबार कारोबार हुँदा २८ सय पार गरेर नेप्से फर्किएको थियो। बजार उच्च भएका बेला विभिन्न संचारमाध्यममा अनेक टिकाटिप्पणी हुने गरेका छन्। साथै हाल कारोबार रकम समेत उच्च हुने गरेको छ।
बुधबार ११ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। एकैदिन भएको यो कारोबार रकम हालसम्मकै उच्च हो। त्यस्तै परिसूचक मंगलबार २७९३ को उच्च विन्दुमा पुगेको थियो भने आज बन्द हुँदा २७८७ अंकमा छ।
