राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसले आजको सेयर बजारमा नकारात्मक असर पार्ने अनुमान थियो।
प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अन्यौलता थपिएकाले बजार घट्ने अनुमान गलत सावित भएको छ।
आइतबार सेयर बजारको परिसूचक नेप्से ३२.८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि कारोबार बन्द हुँदा नेप्सेले पहिलो पटक २८ सय अंक पार गरेको छ। नेप्से २८२० अंकमा पुगेको छ। जुन अंक अहिलेसम्मकै उच्च हो।
यस दिन ११ अर्ब ६९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम भने यसअघि ११ अर्ब ९५ करोडसम्म भएको रेकर्ड छ।
बैंकिङ ३३, ब्यापार ४०, विकास बैंक २३९, जलविद्युत ४४, फाइनान्स १०४, उत्पादन ७, अन्य १३ र जीवन बीमा समूह ६१ अंकले बढेका छन्।
यस दिन होटल तथा पर्यटन समूह २, माइक्रोफाइनान्स ११ र निर्जीवन बीमा समूह ११ अंकले घटे।
यस दिन खासगरी विकास बैंकका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन्। ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी, कालिका पावर कम्पनी, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोसी विकास बैंक, बरुण हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।
यस दिन समता लघुवित्त र रुरु जलविद्युतका लगानीकर्ताले ३ प्रतिशत बढी गुमाए।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो। नेसनल लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, मेगा बैंक र गरिमा विकास बैंक कारोबारका आधारमा अगाडि रहे।