सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा मंगलबार बिहान भएको बाँडफाँटमा ६७ हजार ८ सय ९० जनाले १० कित्ताका दरले पाएका छन्।
धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार गोलाप्रथाबाट कुल योग्य आवेदकमध्ये ३.१० प्रतिशतले शेयर पाएका हुन्।
आईपीओमा आवेदन दिएकामध्ये २१ लाख ८८ हजार ७७८ वटा आवेदन सदर भएको थियो। जसमध्ये २१ लाख २० हजार ८ सय ८८ जना लगानीकर्ताको हात खाली भएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले जनाएको छ। जुन कुल योग्य आवेदकको ९६.९० प्रतिशत हुन आउँछ।
कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले शेयरको बाँडफाँड कार्यक्रममा दोहोरो आवेदन दिएकामध्ये दोहोरो आवेदन र अन्य कारणबाट ९ हजार ९ सय ८६ वटा आवेदन रद्द भएको छ।
कम्पनीको आईपीओमा अन्तिम दिन कात्तिक ८ गतेसम्ममा २१ लाख ९८ हजार ७६४ वटा आवेदन परेको थियो। उक्त संख्याको आवेदनबाट २ अर्ब ५२ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको २ करोड ५२ लाख १९ हजार ९०० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३७.१४ गुणा धेरै हो ।
कम्पनीले कार्तिक ४ गतेदेखि कुल ७ लाख ३० हजार कित्ता साधारण शेयरको बिक्री खुला गरेको हो । कुल निष्काशन तथा बिक्री खुला गरिएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । यसरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माई खोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । जस मध्ये ७५.४ प्रतिशत संस्थापक समुहको, १० प्रतिशत प्रभावित बासिन्दाको र १४.६ प्रतिशत सर्वसाधारणहरुको हुनेछ ।
कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत दुई अर्ब रुपैयाँ हुने र प्रतिमेगावाट लागत २१ करोड तीन लाख पाँच हजार रुपैयाँ हुने जनाएको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्वबहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ।