पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसंगति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ।
गलत मनसायका साथ बीमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले आज एक सूचनामार्फत् गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो।
ठगी गर्ने नियतले बीमा दाबी भुक्तानी गर्ने प्रयास भएको पाइएकाले समितिले चेतावनी दिँदै भनेको छ, 'बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा बेहोरा पेस गरी ठगी लगायतका कसुर गर्ने गरेको पाइएको छ।'
किर्ते कागजातका आधारमा बीमालेख तयार गर्ने तथा हुँदै नभएका घटनाको समेत गलत विवरण पेस गरी ठगी गर्ने नियतका साथ भुक्तानीको प्रयास भइरहेको पाइएको समितिले जनाएको छ।
समितिले कानुनविपरीतका त्यस्ता प्रयासले बीमा व्यवसायमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै यस क्षेत्रप्रति जनविश्वास घट्न नदिन सरोकार भएका सबै पक्षको ध्यानकर्षण गराएको छ।
गलत क्रियाकलपामा संलग्न नहुन बीमा कम्पनी, कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर लगायतलाई समितिले आग्रह गरेको छ। रासस