नेपाल क्लियरिङ्ग हाउस र सन नेपाल लाइफ इन्स्योरेन्सबीच एनपिआइमा आबद्ध हुने सम्झौता भएको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको विभिन्न भुक्तानीसम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्नको लागि यस्तो सम्झौता भएको हो।
सम्झौता पत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौता अन्तर्गत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआइ) सँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरेर डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरु स्वचालित रुपमा गर्न सक्नेछन्।
एनपिआइमा जोडिएपछि सन नेपाल लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ।
उक्त प्रणालीमार्फत सन नेपाल लाइफले आफ्नो बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डरभुक्तानी, लगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन्।
यसले लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको अन्त्य हसने बताइएको छ। साथै भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्नेछन्। सन नेपाल लाइफले आफ्ना विभिन्न खाताहरुमा रहेको रकमलाई समेत सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न मद्दत पुर्याउने छ।
सन नेपाल लाइफका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइन मार्फत कनेक्ट आइपिएसबाट बैंक शाखाहरुबाट वा सदस्य बैंक÷वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानल मार्फत् सजिलै तिर्न सक्नेछन्। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन्।
सन नेपाल लाइफ लगायत ८ जीवन बीमा कम्पनीहरु यसअघि नै एनपिआइमा आबद्ध रहेका छन्। ३० भन्दा बढी जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आइपिएसबाट भुक्तानी गर्दै आएका छन्।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरीएको एनपिआइ सञ्चालनमा छ। जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन्। अन्य पिएसपी, पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ६८ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमै देशमा भरपर्दो र व्यावसायिक बीमा प्रदायकको रूपमा आफूलाई स्थापित गरेको बताइएको छ।
यसले देश भरी १६९ उपशाखा सहित २१ वटा शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। साथै एनसीएचएलसँगको यस साझेदारीले बीमा सम्बन्धी डिजिटल सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ।