सनराइज बैंकको १४औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न गरेको छ। बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सभा सम्पन्न भएको हो।
उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.६५ प्रतिशतका दरले हुन आउने रकम ६३ करोड ९ लाख ४८ हजार तीन सय ९ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.३५ प्रतिशतका दरले हुन आउने रकम तीन करोड बत्तीस लाख सात हजार आठ सय पाँच रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यो बैंक मिति २०६४ साल असोज २५ मा स्थापना भएको हो। बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय १९ रुपैयाँ रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजीमा बृद्धि गरी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८ सय ८ रुपैयाँ कायम हुन गएको छ।
साथै सनराइज र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो पक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
यस बैकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम मार्फत् आफ्ना ८ लाख बढी ग्राहकहरुलाई सेवा दिदैं आइरहेको छ।¬