इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन्।
पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनि अध्यक्ष प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्ति बिडम्बनापूर्ण भएको पूर्वअध्यक्ष पौडेलले बताए।
मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पुँजीबजारलाई अर्थतन्त्रको ऐना हो भनेर पेशा नै बनाएर लाग्ने लगानीकर्ताको लागि ‘प्रचण्ड’ले पुँजीबजारमा लगानी गर्नु साम्राराज्यवादको विकसित रुपको टिप्पणी गर्नु बिडम्बनापूर्ण अभिव्यक्ति भएको बताए।
पौडेलले उद्योग व्यवसाय गर्न आवश्यक पूँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी संकलन गर्ने र उद्यमशीलताको विकास पुँजीबजारले गर्छ भन्ने मान्यता राख्ने लगानीकर्ताको लागि प्रचण्डको अभिव्यक्ति विल्कुल गलत तथा समय सान्दर्भिक नभएको बताए।
उनले पार्टीको नेतृत्व तहमा रहेका नेताले पुँजीबजारको आवश्यकता हो की होइन भन्ने विषयमा बहस तथा छलफल गर्न आवश्यक भएको तर्क राखे। पौडेलले यस्तै हो भने अब पुँजीबजारलाई पुँजीबजार कै रुपमा तथा स्वतन्त्र चल्न दिनुपर्ने बताए।
उनले सरकार नियामक निकाय तथा ठूला नेताहरुलाई नै पुँजीबजारको सामान्य नियम नै नबुझेकाले अहिलेको अवस्था आएको बताए। पौडेलले अब सबैलाई बुझाउने काम लगानीकर्ताको नै काँधमा आएको जिकिर गरे।
‘शेयर बजारलाई पेशा नै बनाएर, पुँजीबजार नै अर्थतन्त्रको ऐना भनेर शेयर बजार २० वर्षदेखि लागेका छन्। पुँजीबजारले उद्योग व्यापार व्यवसायका लागि आवश्यक पुँजी तथा छरिएर रहेको पुँजीलाई संकलन गर्न सक्छ र उद्यमशीलताको विकास पुँजीबजारले गर्दछ भन्ने मान्यता राख्नेहरुलाई प्रचण्डको भनाई विल्कुल गतल हो’, उनले भने, ‘यसरी बोल्नु समय सापेक्ष पनि छैन। उहाँले कुन परिवेशमा कसरी बुझ्नु भयो र भन्नु भयो । उहाँले नै बुझ्नु भयो होला।’
नेताका पछिल्ला अभिव्यक्तिहरु पुँजी बजारको र्मम कसैले नबुझेको भन्दै उनले अब पुँजीबजारको विषयमा वहस गर्ने बेला आएको बताए।
‘नेपालको लागि पुँजी बजार आवश्यकता हो कि होइन । पुँजीबजार नचाँहिने नै हो । पुँजी बजारले मुलुकको अर्थतन्त्रलाई राम्रो गर्दैन भने यो विषयमा वहस गर्नु आवश्यक छ’, उनले भने, ‘होइन भने पुँजीबजारलाई पुँजीबजारकै रूपमा तथा स्वतन्त्र चल्न दिनुपर्छ। पुँजी बजारको विकासको लागि काम गर्नुपर्यो।’
सरकारले साच्चीकै पुँजीबजारको विकास, बिस्तार तथा व्यापकताको लागि र पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि काम गर्नु पर्ने भन्दै उनले सरकारले पुँजीबजारको सामान्य नियम बुझ्नुपर्ने औल्याए।
‘अब हामीले बुझाउनु पर्छ । सरकार, नियामक निकायले पुँजीबजारलाई पुँजी बजारकै रुपमा चल्न दिनुपर्छ । पुँजीबजारमा मूल्य र मान्यताका हिसावले चल्न दिनुपर्छ। अनि मात्रै बजार राम्रो हुन्छ। तर, बजारलाई शेयर बजारका नीति निर्माताले त्यो किसिमले बुझेनन्’, उनले भने, ‘पुँजी बजारको छुट्टै मूल्य मान्यताहरु हुन्छन्। त्यो मान्यताहरुलाई नीति निर्माताले आत्मासाथ गर्न नसक्दा अहिलेको अवस्था आएको हो । यसमा हाम्रो पनि थोरै कतै कमिकमजोरी छन्। पुँजीबजारलाई पुँजीबजारकै रुपमा चलाउन नसकेको परिणाम अहिले लगानीकर्ताले भोगिरहेका छन् । अहिले बजारमा लगानीकर्ता असाध्यै आत्तिएको अवस्था छ।’
उनले लगानीकर्ताले अभिभावक गुमाएको तथा समाउने ‘हाँगो न टेक्ने अखेटो’ जस्तो अवस्था भएको बताए। ‘यस्तो अवस्थामा समग्र लगानीकर्ताले पुँजी बजारको विकास र बिस्तारको लागि आवाज उठाउनु आवश्यक छ,’ उनले भने।
पौडेलले पछिल्लो ७३ दिनमा नेपाली शेयर बजारको पुँजी ३० प्रतिशतले घटेको बताए। उनले बजारमा पुँजी विस्तारको हिसावले हेर्ने हो भने यो अवधिमा १२ अर्ब ३० करोडको नोक्सानी भएको बताए।
पछिल्लो समय लगानीकर्ताले प्रत्येक दिन १६ अर्ब ६६ करोड रूपैयाँ नोक्सानी भोगिरहेको पौडेलले बताए। पौडेलका अनुसार नेपालको इतिहासमा छोटो समयमा शेयर बजार यति धेरै घटेको पहिलो पटक हो। उनले शेयर बजार घट्नु तथा बढ्नु लगानीकर्ताले स्वाभाविक रुपमा लिनुपर्ने बताए।
नेपालका राजनीतिक दलका नेतृत्वले पूँजीबजारको अर्थ, महत्व, अन्तर्राष्ट्रिय अभ्यासहरु र पुँजीबजारले अर्थतन्त्रमा पारेको प्रभावको बृहत दायरालाई नबुझि साँघुरो बुझाइ बनाउँदा नेपालको पुँजीबजारले परिपक्वता पाउन नसेकेको पौडेलले जिकिर गरे।
त्यस्तै, पछिल्लो समय सबैले पुँजीबजारलाई पुँजीबजारको रुपमा लिएको भए कहिले ४ देखि १२ करोड सीमा, धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक कहिले बैंक तथा वित्तीय संस्थाले खरिद गर्न नपाउने नीति ल्याउनु गलत भएको बताए।
त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रचण्डको अभिव्यक्ति साना लगानीकर्ताको मर्म विपरित भएको बताए।
अध्यक्ष पोखरेलले शेयरमा लगानी गर्ने लगानीकर्ता पुँजीपति मात्रै नभएको बताए। उनले पछिल्लो समय शेयर बजार पुँजीपति वर्गले मात्रै नभएर रोडमा बसेर साग बेच्ने, घरैमा बसेर एउटा घर गृहिणी र विद्यार्थीको लागि समेत भएको बताए।
राजनीतिक नेतृत्वमा रहेका नेतृत्वले यो कुरा बुझिदिनु पर्ने अध्यक्ष पोखरेल बताउँछन्। प्रचण्डले दिएको अभिव्यक्ति शेयर लगानीकर्तालाई साँढेको जुधाईमा बाच्छाको मिचाई जस्तै भएको उनको टिप्पणी थियो। ४६ लाख लगानीकर्ताको आम्दानीको स्रोत नै पुँजी बजार भएकाले पुँजीबजारलाई लक्षित गरेर टिप्पणी गर्नाले माओवादीको भोटमा समेत असर गर्ने सक्ने बताए।
अध्यक्ष पोखरेलले प्रचण्ड र वर्तमान अर्थमन्त्रीलाई समेत पुँजीबजारको विषयमा सामान्य ज्ञान समेत नभएको तर्क गरे। ‘नेतृत्व तहमा बसेका व्यक्तिले शेयर बजारका विषयमा गलत टिप्पणी गर्नु लगानीकर्ताको मर्म विपरित हो। विगत लामो समयदेखि माथिल्लो तहमा बस्ने व्यक्तिहरुले शेयर बजारको विषयमा नकारात्मक कुराहरु बोल्ने गरेका थिए। जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शेयर बजारलाई जुवा घरको संज्ञा दिएका थिए। भने पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले शेयर बजार अनुत्पादनको क्षत्र हो भन्ने गरेका थिए । शनिवार माओवादीका अध्यक्ष प्रचण्डले शेयर बजार पुँजीपतिहरुले मात्रै गर्ने हो भन्नु गलत हो’, उनले भने, ‘प्रचण्डले यो बुझ्नु भएन की शेयर बजार शेयर बजार सेन्टिमेन्टमा चल्ने बजार हो । यसरी अहिले नीतिगत तहमा बस्नेहरुले विभिन्न समयमा यस्ता अभिव्यक्ति आउँदा शेयर बजार साच्चै जुवाघर रहेछ की लगानी गर्ने वातावरण नभएको बताउन थालेका छन्। नेतृत्वले यस्तो बोल्दा बजारमा कसरी नीतिगत सुधार हुन्छ । लगानीकर्तालाई अहिले बजार हाम्रो लागि नभएको लागेको छ।’
उनले अहिले कुनै राजनीतिक दलहरुसँग १० लाख पनि सदस्य नरहेको भन्दै शेयर बजारले ४५ लाख भन्दा बढी लगानीकर्ता भएको स्मरण गराए। ‘लगानीकर्ताहरु नै एउटा राजनीतिक पार्टी खोल्न सक्ने अवस्थामा छौं। लगानीकर्ताको प्रतिनिधित्व गर्दै सरकारमा जान सक्छौं। हामीलाई हेपाह प्रवृत्तिले भोलिको दिनमा राजनितीक दललाई नै असर गर्दछ’, उनले भने, ‘तर लगानीकर्ताले जस्तोसुकै परिस्थिति आए पनि मन बलियो बनाउनु जरुरी छ।’
उनले प्रचण्डलाई शेयर बजारको विषयमा कुनै ज्ञान नभएको दाबी गरे। ‘प्रचण्डलाई शेयर बजारबारे केही ज्ञान छैन। अर्थमन्त्रीलाई समेत शेयर बजारको विषयमा ज्ञान छैन। अर्थशास्त्रको विद्यार्थी नै म होइन। मलाई अर्थशास्त्र जान्नु पनि छैन। भन्ने अभिव्यक्ति आउने गरेको छ’, उनले भने, ‘यो सबै अबुझ पन हो। जुन कुराको ज्ञानै छैन। त्यो कुरामा किन बोल्नु हुन्छ। प्रचण्डले कुनै शेयर बजारको कार्यक्रममा बोल्नुभएको होइन। इगो साच्नको लागि बोल्दाखेरी लगानीकर्ताले दुई दिन मार खेप्नुपर्यो।’
अध्यक्ष पोखरेलले शेयर बजारमा निरन्तर रूपमा विभिन्न तहबाट हुने प्रहारले लगानीकर्ता शेयर बजारबाट बाहिर निस्कन थालेको बताए। उनले नीतिगत तहमा बस्नेले पुँजीबजारलाई नकारात्मक रुपमा बुझ्दा बजार निरन्तर रुपमा तीन महिनादेखि घटिरहेको बताए।