ग्लोबल आइएमई बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच आज सम्झौता भएको छ। यी दुई कम्पनी र नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।
उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एन्ड डी इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयर विणादेवी राई र इन्फिकेयर प्रालिका निर्देशक सविन मानन्धरले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरूलाई आवश्यक मलखाद, बीउ-बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण ब्याजरमा कृषि कर्जा उपलब्ध गराउने बताइएको छ।
साथै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालिले कृषक पहिचान तथा कृषकहरूलाई आवश्यक तालिम प्रदान गर्नेछ।
कर्जा अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार ब्याज अनुदान प्रदान गरिने बताइएको छ। कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यवस्थापन) तथा कार्डमार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फिकेयर प्रालिले गर्नेछ।
ग्लोबल आइएमई बैंकले देशभर तथा देश बाहिर गरी सम्पुर्ण क्षेत्र र वर्गसम्म बैंकिङ सेवा पुर्याइएको छ। हाल यसले नेपालभर ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकहरूलाई सेवा दिइरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।