मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य भएको छ। बैंकले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवं परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको कार्डको लागि साझा केन्द्रको रूपमा रहेको मोको डिजिटल वालेटसँग सहकार्य गरेको हो।
उक्त साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शूल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन्।
मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको कार्ड सहज रुपमा लोड गरी क्युआर कोड स्क्यान गरी सजिलै रकम भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन्।
यो सुविधामार्फत ग्राहकहरूले हरेक कारोबारका लागि पटक-पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरूलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिइन्।
मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा बैंककी सिइओ खुञ्जेलीले खुसी व्यक्त गरेकी छन्।
मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रुपले फरक वालेट हो। यो एपले पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्टान्डर्डको नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको छ। यस हिसाबमा यो एपमा सुरक्षित ब्याक-इन्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई-बैंकिङका प्रमुख विश्व सिंहले जानकारी दिए।
मोको वालेट प्रयोगकर्ताहरूले युनिफाइड क्युआर पेमेन्ट, अलिपे, नेपाल पे, युनिअन पे, भिसाजस्ता विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत स्यान र पे प्रक्रियाको सहायतामा रकमको भुक्तानी गर्न सक्नेछन्।