नेपाल बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटी कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थीहरू लगायत समाजका सबै वर्गलाई डिजिटल बैकिङसम्बन्धि जानकारी गराइ डिजिटल बैंकिङ प्रविधिहरूमा अभ्यस्त गराउने, र वित्तीय पहुंच अभिवृद्धि गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम नेपाल बैंकसहित सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउँदै आएको एमिटी कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरको पहलमा आयोजना गरिएको हो।
भिमदत्त नगरपालिकामा संचालित डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र सामाजिक कार्यक्रम प्रमुख गोमा अवस्थिको उपस्थिति जनाए। नेपाल बैंक महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेश राज जोशीले डिजिटल बैकिङ वित्तीय साक्षरतासम्बन्धी प्रस्तुतीकरण दिए। कार्यक्रममा १२५ जना स्थानीयको सहभागिता रहेको थियो।
त्यसैगरी एमिटी कलेजमा संचालित डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रममा कलेजका प्रधानाध्यापक रविन्द्र अवस्थि, कलेजका बोर्ड सदस्य डा. नरेद्र बहादुर चन्द र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जनक प्रशाद सुवेदीको उपस्थिति थियो। कार्यक्रममा ८० जना विद्यार्थीहरूको सहभागिता थियो।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आयोजित कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.पदम राज जोशी र सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन विभागका विभागीय प्रमुख शंकर दत्त भट्टले उपस्थिति जनाए। उक्त कार्यक्रममा भने ९२ जना विद्यार्थीहरूको सहभागिता रहेको बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले जानकारी गराए।
उनका अनुसार बैंकले डिजिटल बैंकिङ साक्षरता अभियान गर्नुको प्रमुख उद्देश्य पनि पूरा भएको छ।