अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच शुक्रबार सम्झौता भएको छ।
अजोड इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरेर डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने गरी दुई संस्थाबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापछी अजोड इन्स्योरेन्स एनसिएचएलको नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ। त्यस्तै, यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएल-आइपिएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ।
यसले अजोड इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने छ। यी सम्पुर्ण कारोबारहरू सोझै बीमा कम्पनी तथा लाभग्राहीहरूका बैंक खाताहरूबाट हुनेछन्।
यसरी एनपिआईमा जोडिए पछि अजोड इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालित रुपमा हुनेछ। एनपिआईसँग गरिने उक्त इन्टिग्रेसनमा अजोड इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालिको पनि महत्वपूर्ण भूमिका रहेको छ, जसले अजोड इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ।
अजोड इन्स्योरेन्सलगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरूले आफ्नो बीमा प्रिमियम शुल्क अनलाइनमार्फत कनेक्ट आइपिएसबाट भुक्तानी गर्दै आएका छन्। साथै १० जीवन तथा निर्जीवन बीमा कम्पनीहरू यस अघि नै एनपिआईमा आबद्ध छन्।
एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपिआईमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरू आबद्ध छन्। त्यस्तै पिएसपी-पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरूलगायत ७१ गैर-बैंकिङ संस्थाहरू इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।
अजोड इन्स्योरेन्सले सन् २०१८ देखि आफ्नो सेवा विस्तार गर्दैछ। संस्था यो साझेदारीसँगै विभिन्न डिजिटल च्यानलहरू मार्फत प्रदान गरिने बीमा उत्पादनहरूमा आफ्नो उपस्थिति विस्तार गर्न मद्दत मिल्नेमा सकारात्मक छ।