नबिल बैंक र आर एन्ड डी इनोभेटिभबीच आइतबार सम्झौता भएको छ। दुई संस्थाबीच नेपालमै पहिलो पटक आयोजना हुन लागेको 'कृषि कर्जा मेला' तथा 'कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद'मा सहकार्य गर्नेबारे सम्झौता भएको हो।
सम्झौता पत्रमा बैंकको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत र आर एन्ड डी इनोभेटिभ सोलुसन्सका अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन्।
नेपाल कृषि मेसिनरी व्यवसायी संघले यही माघ ५ गतेदेखि ८ गतेसम्म नारायणगढस्थित चितवन एक्स्पो सेन्टरमा पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी आयोजना गर्दैछ। उक्त प्रदर्शनीबीच आर एन्ड डी इनोभेटिभ सोलुसन्सले 'कृषि कर्जा मेला' तथा 'कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद'को आयोजना गर्ने भएको हो।
उक्त मेलाको प्रमुख उदेश्य कृषिसम्बन्धी सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरू र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउनु र उनीहरूको समस्या समाधानका लागि छलफल गर्नु रहेको विभागीय प्रमुख निरजले बताए।
सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू मार्फत ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ।