बुधबार नेपाल क्लियरिङ हाउसको १० औं वार्षिक साधाराण सभा सम्पन्न भएको छ।
उक्त सभामा कम्पनीको चुक्ता पूँजी ४१.१ करोड रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी ५६.७६ करोड पुर्याउने र अधिकृत पूँजी १ अर्ब पुर्याउने निर्णय गरिएको छ। साथै, बोनस सेयरको कर प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांस पनि वितरण गर्ने निर्णय भएको छ।
कम्पनीले पूँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार, थप प्रणालीहरू स्थापना, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र नेसनल पेमेन्ट स्वीचअन्तर्गतको पूर्वाधार स्थापना गर्नमा प्रयोग गर्ने बताएको छ।
त्यस्तै, कम्पनीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको खुद नाफा ३८ प्रतिशतले वृद्धी भएको छ। र, कम्पनीले कुल पूँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले मात्र वृद्धी भएको हो।
बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरू चयन गरेको छ। विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ निर्वाचित भएका हुन्।
एनसिएचएलमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९० प्रतिशत स्वामित्वमा रहेको छ।