एनएमबी बैंक र रेमिट हाइड्रो लिमिटेडबीच परियोजना लागनी समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई संस्थाबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी हस्ताक्षर भएको हो।
जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रबन्धित आयोजना हो।रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी तथा रेमिट्यान्सकर्ताहरू हुनेछ।
एनएमबी बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई समेत सामेल गराई सह-वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ। घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रुपैयाँ छ। बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ।
नेपाल राष्ट्र बैंकबाट जारी पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ।
एनएमबी बैंक ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित बैंक हो। यसले सन् २०१७, सन् २०१८ र सन् २०२० मा पनि ‘बैंक अफ द इयर नेपाल’ अवार्ड प्राप्त गरिसकेको छ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।