वैदेशिक रोजगार बोर्डले र नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई)बीच सम्झौता भएको छ। बोर्डको भुक्तानी सम्बन्धी कारोबारहरूलाई पूर्ण स्वचालित गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एमपिआईसँग जोडी सोझै लाभग्राहीहरूको बैंक खातामा भुक्तानी गर्न सक्नेछ। यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरूको क्षतिपूर्तीको भुक्तानी, भेण्डर भुक्तानीलगायत सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालित रुपमा हुनेछ।
सम्झौता अघि सम्पूर्ण भुक्तानी कारोबारहरू चेकमार्फत गरिन्थ्यो। तर यो सम्झौतापछि बोर्डको सेवा प्रवाहमा उल्लेखनीय सुधार आउनुका साथै पीडित परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्।
नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रबन्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने प्रयोजनले वैदेशिक रोजगार बोर्डको स्थापना गरेको हो।
आफ्ना विभिन्न प्रक्रिया तथा सेवाहरू डिजिटाइज गर्ने क्रममा बोर्डले नीतिगत सुधार र व्यवस्था गर्दै आएको छ। साथै, बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारहरूले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकमको संकलन कनेक्ट आइपिएसमार्फत पनि गर्दै आएको छ।