आइएमई जनरल इन्स्योरेन्सले सोमबारबाट थप दुई सेवाको सुरूवात गरेको छ। कम्पनीले एक कार्यक्रमबीच आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई इजी क्यासलेस क्लेम सेटलमेन्ट गरी दुई सेवा थप गरेको हो।
उक्त कार्यक्राममा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडल सहित कम्पनीका सञ्चालक समितिका पदाधिकारीहरू, स्पार्क अटोकेयर प्रालिका अध्यक्ष रोशन घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा पदाधिकारीहरूको उपस्थिति थियो।
१. आइजिआई हेल्थपल्स बीमालेखः
आइएमई जनरल इन्स्योरन्सले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने गरी आइजिआई हेल्थ प्लस बीमालेख ल्याएको हो। यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरूको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ।
दुर्घटना बीमा: यस बीमालेख अन्तर्गत बीमलेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरूलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँ सीमासम्मको सुविधाहरू प्रदान गरिने बताइएको छ ।
औषधोपचार बीमा:
यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारिरीक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म नगद रहित वा सोघ भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिने कम्पनीले जनाएको छ।
घातक रोग:
यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमित सदस्यहरूलाई कनै घातक रोगहरू लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम ५ लाख रुपैयाँ तुरुन्त भुक्तानी गरिनेछ। यसबारे केही सर्तहरू भने जारी गरिएको छ।
२. आइजिआई इजी क्यासलेस क्लेम सेटल्मेन्टः
आइएमई जनरल इन्स्योरेन्सद्वारा सुरू गरिएको अर्को सेवा भनेको आइजिआई इजी क्यासलेस क्लेम सेटल्मेन्ट हो। उक्त सेवा हाललाई काठमान्डौं उपत्यका भित्र लागु हुने बताइएको छ। कम्पनीबाट आफ्नो निजी सवारी साधनहरूको बीमा गरेका ग्राहकहरूले कुनै पनि किसिमको दुर्घटनामा परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्गस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा सहजै सेवा प्राप्त गर्न सकिने सेवाको शुभारम्भ गरिएको हो। यसका लागि स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कम्पनीबाट बीमा भएको चार पांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेश्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भई मर्मत संभार गर्नुपर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत संभारबापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गर्न सकिने गरी सम्झौता गरिएको छ।
यसको लागि सुरूमा आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्बरमा फोन, एसएमएस, भाइबर, ह्वाट्सएप मार्फत दुर्घटनाको जानकारी गराउन सकिन्छ। यसको विवरण कम्पनीको वेबसाइट र फेसबुकमा उपलब्ध छ। त्यसपछि क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरीस्थित स्पार्क अटोकेयरको सर्भिस सेन्टरसम्म लगि मर्मत गरिन्छ। त्यस्पछि, कम्पनी आफैले सवारी मर्मत भएपछि सावरी धनीको घरसम्म पुऱ्याउने व्यवस्था मिलाइएको छ।