ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास बिक्रेता महासंघ, नेपालबीच सम्झौता भएको छ। ग्यास बिक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा बिक्री गर्दा क्युआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रबर्धनका लागि सहकार्य गर्ने सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका हुन्। बैंकले आफ्ना भुक्तानी साझेदारहरू 'स्मार्ट चोइस टेक्नोलोजी' र 'फोन पे'सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रबर्धनका लागि ग्यास बिक्रेता महासंघसँग समन्वय गरेको हो।
सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रबर्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ-संस्थासँग सम्झौता गर्दै आएको छ।
महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आबद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेताहरू सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।