एनआइसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ। यो योजना चैत्र १ गतेदेखि सुरू भएको हो भने २०७९ सालको वैशाख ३१ गतेसम्म लागू हुनेछ।
उक्त योजना अनुरुप अब बैंकका ग्राहकहरूले एनआइसी एशिया मोब्याङ्क प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँमा निःशुल्क रकम पठाउन सक्नेछन्। एनआइसी एशिया मोब्याङ्क मार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवार तथा आफन्तलाई सहज रुपमा रकम पठाउन सक्ने भएका हुन्।
योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआइसी एशिया मोब्याङ्कबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्। यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआइसी एशिया मोब्याङ्क भित्र रहेको 'सेन्ड रेमिट' आइकनमा थिचेर रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्ने बैंकले जनाएको छ।
यसरी पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिन्छ। साथै, बैंकका कुनै एक ग्राहकले अर्को ग्राहकलाई पठाएको रेमिट रकम एनआइसी एशिया मोब्याङ्कबाट सहजै बुझ्न सकिने सुविधा समेत यो एपमा छ।
यसको लागि एनआइसी एशिया मोब्याङ्क भित्र रहेको 'रेमिट्यान्स' आइकनमा थिचेर 'रिसिभ रेमिट' भित्र आफूलाई प्राप्त रकम र पृथक पिन विवरण राखेपछि रकम खातामा स्थानान्तरण गर्न सकिन्छ।
यो दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्त गर्ने बैंकले विश्वास राखेको छ।
एनआइसी बैंकले देशभर रहेको ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिकमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ।