भरतपुरस्थित चितवनको एक्स्पो सेन्टरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरू भएको छ। उक्त मेला चैत १२ गतेसम्म सञ्चालन हुनेछ।
बुधबार आयोजित एक उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यू’ का एशिया प्यासिफिक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताएका छन्। उनले भने, 'नबिल बैंकले दिगो बैंकिङ अगाडी बढाएको छ। त्यसको प्रमुख कार्यक्रम कृषि छ।'
उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे।
'कृषि क्षेत्रको विकासको लागि बैंकहरूले जति प्रभाव पारेको छ त्यो भन्न सकेको छैनौं। भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभाव भन्न सक्ने गरि अगाडी बढौं। बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो। कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरी मुल्य श्रृंखला निमार्ण गर्न आवश्य छ। यसो हुँद बैंकले कृषिमा लगानी गर्छन्।'
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालू चेन’ मा समस्या रहेको बताए। उनले बैंकको ‘नबिल दिगो बैंकिङ’ योजनाअन्तर्गत क्रियाकलाप अगाडि बढाउँदाको नतिजा समेत सुनाए।
सिइओ अनिलले बैंकहरू कर्जा दिन तयार भएपनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए। 'कर्जा दिन बैंक तयार छौं तर किसानले कर्जा लिएर ब्याज मात्रै तिर्ने होइन। त्यसबबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझेका छन्,' उनले भने, 'नबिल बैंक किसान र कृषिमा लगानी गर्ने उद्धेश्यले अगाडी बढेको छ।'