ग्लोबल आइएमई बैंकले नेपाल-भारत भित्रका ग्राहकहरूलाई क्युआर सुविधा सुरू गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ।
उक्त सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ एप गुगल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्युआर मार्फत भारतपे, पेटिएम, गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिनेछ।
उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका हुन्।
सेवा संचालनमा आएपश्चात यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ। अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै भारतपे, पेटिएम, गुगल पे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्युआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ। साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरूलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।
त्यसैगरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरूबाट ग्लोबल आइएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन्। यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिने विश्वास राखिएको छ।
सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न कार्य सुरू गरिरहेको छ।
बैंकले मुलुकभर २८९ शाखा, २५४ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याइरहेको छ।