एनआइसी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरूमा छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले मिती कात्तिक १० गते सम्पन्न गरेको सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ।
बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३-३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।
साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ।
एनआइसी बैंकले मुलुकभर हाल ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिंगमार्फत् बैंकिंग सेवा दिइरहेको छ।