एनएमबी बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीहरूलाई सहज बनाउने भन्ने उद्देश्यले नरहा-३, सिरहास्थित हिमालय सुगर मिल्स परिसरमा आफ्नो ११ औं विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ।
हिमालय सुगर मिल्सको तर्फबाट महा-प्रबन्धक अवध किशोर यादव र एसएन कुशवाहा, एनएमबी बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरू मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राज कुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी सञ्जीब झा लगायत सर्वसाधारणहरूको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउन्टरको उद्घाटन भएको हो।
उक्त काउन्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ।
बैंकले उखु किसानहरूलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ।
कार्यक्रममा बैंकका प्रदेश प्रमुख पोखरेलले निजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा सो भेगकै प्रतिष्ठित चिनी मिलले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै विस्तारित काउन्टरबाट नगद रहीत सेवा लिन सम्पूर्ण बासीहरूलाई अनुरोध गरेका छन्।
एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया-२०२१’ उपाधीबाट सम्मानित बैंक हो।
एनएमबि बैंकले सन् २०१७, सन् २०१८ र सन् २०२० कालागि पनि उक्त पत्रिकाद्वारा नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ।
एनएमबी बैंकले यस लगायत हाल देशभरी ११ एक्सटेन्सन काउन्टरहरू, २०१ शाखाहरू र १३९ एटिएमहरू मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ।