व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई 'म्यानेजर अफ द इयर २०२२' बाट सम्मान गरेको छ।
शनिबार काठमाडौंस्थित एक होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण एनआइसी बैंकसँग जोडिएका सदस्यहरूलाई समर्पण गरे।
सिइओ रोशन कुमार न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ। त्यस्तै, निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ। साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई रू. ४१.४३ पुगेको छ।
न्यौपाने यसभन्दा अघि ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘कर्पोरेट सिइओ अफ द इयर २०७८’ र ग्लोबल बिजनेस आउटलुक लन्डन बाट ‘बैंकिङ सिइओ अफ द इयर नेपाल २०२१' बाट समेत सम्मानित भएको थिए।
हाल एनआइसी बैंकले देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दैछ।