बजारको वृद्धिले निरन्तरता नपाउँदा नेप्से परिसूचक पुन २४०० मुनि आइपुगेको छ। नेप्से अझै पनि यो मनोवैज्ञानिक बिन्दुमा टेवा परीक्षण गरिरहेको छ। नेप्से यसअघि पनि पटक-पटक यही बिन्दुबाट फर्किने गरेको छ।
बिहीबार करिब २१ अंकले बढेको नेप्सेको वद्धि 'डेढ क्याट बाउन्स' साबित भएको हाे। बैंकिङ प्रणालीमा तरलता अभाव कायमै रहेको, मुलुकको आर्थिक अवस्थामा सुधार देखिनसकेकोले बजार बढ्न नसकेको हो।
साताको पहिलो दिन आज सेयर बजार २९.६० अंकले घटेर २,३८५.६४ अंक पुगेको छ। आइतबार जम्मा २ सय ३३ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा ३४ वटाको मूल्य बढेको छ भने १९३ वटाको घटेको छ। यी कम्पनीहरूको कुल ३४ लाख ७ हजार २७२ सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ।
केही दिनदेखि मूल्य बढेर सर्किट ब्रेक लाग्दै आएको नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थामा आज पनि सर्किट ब्रेक लागेको छ। कारोबारमा आएको १३ औं दिनमा समेत नेष्डोको बढेको छ। मूल्य थप बढ्ने अपेक्षासहित बजारमा नेष्डोको कारोबार भइरहेको हो।
त्यस्तै, सबैभन्दा धेरै कमाउने कम्पनीमध्ये जाल्पा समुदायिक लघुवित्त वित्तीय संस्था पर्छ। पछिल्लो दिनमा यसको बजार मूल्य लगातार बढिरहेको छ।
आइतबार हिमालयन उर्जा विकास कम्पनी कारोबार सबैभन्दा धेरैले घटेको हो। हिमालयन उर्जा विकास कम्पनीले हालसम्म लगानीकर्तालाई लाभांस दिएको छैन। यति हुँदाहुादै पनि कम्पनीको सेयर मूल्य भने केही वाणिञ्य बैंकको भन्दा माथि नै छ। सञ्चित नोक्सनी मै रहेको कम्पनीको मूल्य अहिले प्रति कित्ता चार सय रुपैयाँमा कारोबार भइरहेको छ। हालसम्मको उच्च मूल्यको आधारमा भने ३६ प्रतिशतले मूल्यमा गिरावट आएको हो।
कारोबार आधारमा आज सबैभन्दा धेरै रकमको कारोबार हुनेमा नेपाल टेलिकम छ। आज टेलिकमको मात्रै करिब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यसलाई अरुण भ्याली हाइड्रोपावर, ग्लोबल आइएमई बैंककाे ऋण पत्र, हिमालयन डिस्टिलरी, नबिल बैंक लगायतले पछ्याएको छ।